बलात्कार आरोप झुटो ठहरिएपछि आरोप लगाउने महिलालाई नै ३ महिना कैद (भिडियो रिपोर्टसहित)

२०७९ चैत २७ गते १७:१३
बलात्कार आरोप झुटो ठहरिएपछि आरोप लगाउने महिलालाई नै ३ महिना कैद (भिडियो रिपोर्टसहित)

२७ चैत २०७९ रोल्पा । रोल्पा जिल्ला अदालतले जबरजस्ती करणीका तीनवटा मुद्दा झुटो भएको ठहर गरेको छ।

अदालतले झुटो आरोपमा बलात्कार मुद्दा चलाउनु अपराध भएको भन्दै तीन महिलालाई कैद सजाय पनि सुनाएको छ । जबरजस्ती करणीमा चलाइएका तीन मुद्दा झुटो ठहरिएपछि आरोप लगाउने महिलालाई नै ३र३ महिना कैद सजाय हुने फैसला गरिएको हो ।

रोल्पाको माडी गाउँपालिकाकी १५ वर्षीया किशोरीमाथि गंगादेव गाउँपालिकाका एक पुरुषले जबरजस्ती करणी गरेको भन्दै पीडितका बुवाले २०७८ चैत १८ मा मुद्दा दायर गरे । मुद्दा दायर गरेसँगै पीडक भनिएका पुरुषलाई पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । तर त्यसको एक वर्षपछि चैत २० गते उजुरकर्तालाई नै कैद सजाय हुने गरी जिल्ला न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले फैसला सुनायो ।

त्यस्तै रोल्पा नगरपालिकाका एक किशोरले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको मुद्दामा पनि उजुरीकर्तालाई नै तीनमहिना कैद सजायको फैसला भएको छ । १२ चैतमा प्रमाणिकरण भएको फैसलामा रोल्पा नगरपालिकाकै एक किशोरमाथि जबरजस्ती करणी गरेको आरोप लागेको थियो ।

गत असारदेखि पुर्पक्षका लागि कारागार बस्दै आएका ती किशोरको पक्षमा फैसला भएको छ । अदालतले जाहेरीवालालाई बकपत्र गराउँदा तीनवटै उजुरीकर्ताले जबरजस्ती करणी नभएको र अन्य विषयको कुरामा आवेशमा आएर करणी मुद्दा दिएको उल्लेख गरेको छ ।

शारीरिक परीक्षण प्रतिवेदन, नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाको स्वाब परीक्षण प्रतिवेदन, उजुरीकर्ता तथा पीडितको बयानलगायतले आरोप प्रमाणित नभएको भन्दै उक्त फैसला गरिएको अदालतले जनाएको छ । कसैले कसैलाई पनि आवेगमा बलात्कार जस्तो संवेदनशील उजुरी दिनु गलत भएको फैसलामा उल्लेख छ ।

यो फैसलाले अनाहकमा कसैलाई विना कसूर उजुरी दिनु ठीक रहेनछ भन्ने सन्देश प्रवाह भएको अधिवक्ता बताउँछन् । दोषी उम्किनु हुन्न र निर्दोष फस्नु हुन्न भन्ने कुरामा सबै सचेत हुनुपर्ने भन्दै अदालतको फैसलाले सकरात्मक सन्देश दिएको अधिवक्ताहरूको तर्क छ ।

नियमअनुसार फैसलामा चित्त नबुझे पुनरावेदन गर्न पाउनेछन् । व्यक्तिगत दुस्मनी वा अन्य स्वार्थका कारण कसैलाई झुटो आरोप लगाउनु र अनुसन्धानका लागि सरकारी संयन्त्रलाई परिचालित हुन बाध्य पार्नु पनि अपराध मानिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *