टोलटोलमा स्वास्थ्यसेवा (भिडियो रिपोर्टसहित)

२०७९ चैत २५ गते १७:१२
टोलटोलमा स्वास्थ्यसेवा (भिडियो रिपोर्टसहित)

२५ चैत २०७९ धादिङ । टोलटोलमा पुगेर जेष्ठ नागरिक र अशक्तलाई स्वास्थ्यसेवा दिन स्थानीय तहमा जनप्रतिनिधिसँग विकासे काम र नागरिकका अपेक्षाको फाइलको खातै लागेको हुन्छ ।

त्यसअनुसार काम गर्न गाउँसहरमा जनप्रतिनिधि पनि प्रयासरत छन् । तर आफ्नै आँगन टाढा बन्न पुगेका जेष्ठ नागरिकको अपेक्षा के छ भनेर कमै चासो दिएको पाइन्छ । पछिल्लो सयम केही स्थानीय तहले भने टोलटोलमा पुगेर जेष्ठ नागरिक र अशक्तलाई स्वास्थ्यसेवा दिन थालेका छन् ।

धादिङ्गको नेत्रावती डवजङ गाउँपालिका वडा नं १ की यी बृद्धा गौरीमाया तामाङ्ग घरमै स्वास्थ्य सेवा पाएपछि दंग हुनुहुन्छ । ७२ सालको भूकम्पबाट घाइते गौरीमाया उकालो आरोलो गर्न सक्नु हुन्न, लौरोको सहारामा सामान्य हिँडडुल गर्ने भएकाले गाउँपालिकाले घरमै आएर स्वास्थ्य परीक्षण सहित औषधि समेत उपलब्ध गराएपछि उहाँ दंग हुनुहुन्छ ।

गौरीमाया मात्रै नभएर गाउँपालिककै दुर्गाबहादुर तामाङ पनि स्थानीय सरकारले दिएको सेवाबाट सन्तुष्ट हुनुहुन्छ । गाडी खोजेर महंगो खर्चमा उपचार गर्न टाढा जानुपर्ने बाध्यता भएका उहाँ पनि गाउँपालिकाले घरघरमै आएर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएकोमा खुसी हुनुहुन्छ ।

गाउँपालिकाको हरेक गाउँमा अहिले चिकित्सक र स्वास्थ्यकर्मीको टोली औषधि र स्वास्थ्य परीक्षणको सामग्री बोकेर जाने गरेका छन् । घरघरमा पुगेर टोलीले नियमित स्वास्थ्य परीक्षण गर्छ । समस्याको पहिचान र उपचार समेत गर्छ । मासिक अभियान सुरु गरेर स्वास्थ्य परीक्षण थालेपछि रोगीको पनि पहिचान हुने र उपचार गर्न सकिने अवस्था सिर्जना भएको छ ।

घरघरमा चिकित्सक सहित पुग्ने टोलीले जेष्ठनागरिकको नियमित स्वास्थ्य परीक्षण गर्ने र जटिल समस्या देखिएमा अस्पतालसम्म लानेगरी व्यवस्थापन समेत गर्छ । हरेक जेष्ठ नागरिकको स्वास्थ्य अवस्थाको जानकारी गाउँपालिकाको स्वास्थ्य शाखामा राखिन्छ । गाउँपालिकाभित्रका प्रत्येक गाउँको टोल टोलमा कम्तीमा तीन महिनामा एक पटक पुगी नियमित स्वास्थ्य परीक्षण गर्ने गरी स्थानीय तहले कार्यतालिका नै बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *