बाँकेमा सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रम सुरु (भिडियो रिपोर्टसहित)

२०७९ चैत १० गते १७:४८
बाँकेमा सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रम सुरु (भिडियो रिपोर्टसहित)

१० चैत २०७९ बाँके । राष्ट्रिय वनको दिगो विकास, संरक्षण र वन पैदाबारको सदुपयोग गर्ने उद्देश्यले बाँकेमा सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रम सुरु भएको छ ।

जसअन्तर्गत वन क्षेत्रमा रहेका बुढा र बिग्रिएका रुखहरु काटेर नयाँ बिरुवाहरु हुर्काउन थालिएको छ । प्राकृतिक रुपमा उर्मिएका रुखलाई हुर्काउनका लागि वनमा लाग्ने डडेलो नियन्त्रण, वन क्षेत्रमा तारबार र चरिचरण नियन्त्रण र झाडीहरुको नियमित सफाइ गर्ने गरिएको छ ।

यो वर्ष बाँकेमा ९ वटा सामुदायिक वनका २ हजार ४ सय ९६ वटा बुढा र बिग्रिएका रुखहरु कटान गरेर करिब १ लाख क्युफिट काठ र ३ सय ९१ चट्टा दाउरा बनाउने लक्ष्य राखिएको छ ।

सामुदायिक वन उपभोक्ता समुहहरुको अगुवाइमा फागुनको अन्तिम सातादेखि सामुदायिक वन सफा गर्न थालिएको हो । बिउका लागि केहि राम्रा रुखलाई छाडेर बुढा र बिग्रिएका रखहरु कटान गर्दा वन विकास राम्रो हुन्छ ।

सामुदायिक वनबाट बुढा र कीरा लागेका रुखहरु कटान गरी उपभोक्तालाई आवश्यक पर्ने काठ दाउरा उपलब्ध गराउने, बढी भएको काठ दाउरा जिल्ला वन पैदाबार समिति मार्फत जिल्लाका अन्य क्षेत्रका उपभोक्ताहरुलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

राष्ट्रिय वनको उचित व्यवस्थापन नहुँदा आफ्नो वनको काठ दाउरा कुहिने तर विदेशबाट आयात हुने काठ र फर्निचरहरुको परिणाम बर्सेनि बढ्दै जाने अबस्था छ ।

नेपालमा बर्सेनि करिब ६ अर्बको काठ र फर्निचर आयात हुने गरेको तथ्याङक छ । त्यसैले वनको प्रभावकारी व्यवस्थापन भए उपभोक्ताले सजिलै र सुपथ मूल्यमा काठ दाउरा पाउने र वनमा आधारित उद्योगहरु फस्टाउदा रोजगारी बृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *