खेलकूद

नेपाल भर्सेस लाओस : भिन्सेन्जो अल्बर्टोको प्रशिक्षणमा पहिलो खेल (भिडियो रिपोर्टसहित)

२०७९ चैत ८ गते १६:५०
नेपाल भर्सेस लाओस : भिन्सेन्जो अल्बर्टोको प्रशिक्षणमा पहिलो खेल (भिडियो रिपोर्टसहित)

८ चैत २०७९ काठमाडौं । इटालीका भिन्सेन्जो अल्बर्टो एनिसको प्रशिक्षणमा पहिलो अन्तर्राष्ट्रिय खेल आज नेपाली राष्ट्रिय फुटबल टोली लाओसविरुद्ध खेल्दैछ । छोटो समयको तयारीबीच एनिसले २३ सदस्यीय टोली बनाएका छन् ।

अधिकांश सिनियर खेलाडी विदेशमा रहेका कारण उनले यस पटक ६ नयाँ अनुहारलाई टोलीमा समावेश गरेका छन् । जसमध्ये आजको खेलमा केहिले डेब्युको अवसर समेत पाउने छन् ।

राष्ट्रिय टोलीका अधिकांश खेलाडी विदेशमा रहेका कारण नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले थ्री नेशन्स कप फुटबलका लागि लामो समय टोली बाहिर रहेकालाई पुनरागमन गराएका छन् । ६ जना खेलाडी त पहिलो पटक राष्ट्रिय टोलीमा परे ।

अखिल नेपाल फुटबल संघ एन्फाले मुख्य प्रशिक्षक सार्वजनिक गरेको कार्यक्रममा बोल्दै एनिसले टोलीमा युवा खेलाडीलाई अबसर दिने तर एकैचोटी व्यापक हेरफेर गर्दा नतिजामा असर पर्ने सक्ने बताएका थिए । जारी सहिद स्मारक ए डिभिजन लिगमा गरेको प्रदर्शनका आधारमा उनले ती ६ खेलाडीलाई टोलीमा समावेश गरेका हुन् । जसमा विभागीय टोली एपिएफ क्लब र सातदोबाटो युथ क्लबका २(२ तथा मनाङ मर्स्याङ्दी र एफसी खुलमटारका १(१ जना खेलाडी पहिलो पटक टोलीमा परेका छन् ।

एपिएफबाट मिडफिल्डर मणि लामा र डिफेन्डर सनिश श्रेष्ठले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाए । गत सिजन ए डिभिजनमा फ्रेन्ड्स क्लबबाट खेलेका सनिश घरेलु फुटबलका राम्रा डिफेन्डर हुन् । यस पटक एपीएफबाट राइट ब्याक पोजिसनमा खेलिरहेका उनी सेन्टर डिफेन्समा पनि उतिकै अब्बल छन् । एपिएफका भरपर्दा डिफेन्डर अडामा डुम्बिया रातो कार्ड पाएर १ खेल गुमाउँदा सनिशले नै रक्षापंति सम्हालेका थिए ।

एपिएफलाई पाँचौं चरणको समाप्तीसम्म शीर्ष ६ मा कायम राख्न महत्वपूर्ण भुमिका खेलेका मिडफल्डर मणि पनि डेब्युको प्रतिक्षामा छन् । यसो त खेलाडीका रुपमा उनको सुरुवात फुटसलबाट भएको हो । फुटसलको राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका मणिले एपिएफको आक्रमणक पंतिसम्म बल पुर्याउन माहिर छन् ।

सातदोबाटोबाट अभिषेक बराल र दीपकराज सिंह ठकुरी पनि पहिलो पटक राष्ट्रिय टोलीमा अटाए । गोलकिपर अभिषेक थ्री स्टारको युवा टोलीबाट खारिएका खेलाडी हुन् । थ्रीस्टारकै सिनियर टोलीको बेन्चमा रहेका उनी गत सिजन ए डिभिजनको डेब्युटान क्लब सातदोबाटोमा गए । सातदोबाटोलाई पहिलो सिजनमै बलियो टोलीका रुपमा स्थापित गराउन अभिषेकको प्रदर्शन निर्णायक बन्यो ।

सातदोबाटोकै दीपकराजले यो सिजन उत्कृष्ट लयमा छन् । पाँचौं चरणसम्म दीपकराज ५ खेलमा ४ गोल सहित सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छन् । मोफसलबाट उदाएका सुदूरपश्चिमका फरवार्ड दीपकराजको तीव्र गति र ड्रिब्लिङ विपक्षी डिफेन्सका लागि चुनौती बन्दै आएको छ ।

फुटसलबाटै फुटबलको राष्ट्रिय टोलीमा स्थान बनाएका अर्का खेलाडी हुन् सुमित श्रेष्ठ । मनाङ मर्स्याङ्दीबाट ए डिभिजन लिग खेलिरहेका सुमित फुटसलका स्थापित खेलाडी हुन् । स्पोर्टस क्यासललाई फुटसल लिगको उपाधि दिलाउँदाका नायक सुमित बाँसबारी क्लबबाट बी डिभिजन लिग हुँदै यो सिजन मनाङमा जोडिएका हुन् । मिडफिल्डरका रुपमा परिचित उनी अन्य पोजिसनमा पनि अब्बल छन् ।

यस पटक आएका नयाँ अनुहारमध्ये अर्का सम्भावित खेलाडी हुन्, खुमलटारका पदम भट्टराई । उमेर समूहको राष्ट्रिय टोलीबाट खेलिसकेका पदम एन्फा एकेडेमीको उत्पादन हुन् । घाईते भई लामो समय मैदान बाहिर रहेका उनी यो सिजनको डेब्युटान क्लब खुमलटारलाई लिगमा शान्दार सुरुवात दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

सिनियर टोलीबाट राम्रा खेलाडी विदेश पलायन भइराख्दा यी नयाँ खेलाडीले अब मैदानमा नेपाललाई सफलता दिलाउने जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्