घोडापालन : शौख पूरा गर्नेदेखि भरियासम्म (भिडियो रिपोर्टसहित)
७ चैत २०७९ मुगु । सहरी क्षेत्रमा घोडा पाल्नु र चढ्नु आर्थिक–सामाजिक हैसियतका साथै शौख मानिन्छ । तर, दुर्गममा भने यातायातको निर्विकल्प माध्यम हो घोडा। जति नै महंगो परेपनि घोडा किनेर स्याहार्नु त्यहाँको बाध्यता हो। घोडेजात्राकै अवसरमा मुगु सहकर्मी नन्दबहादुर रोकायाले त्यही बाध्यता श्रब्यदृश्यमा उतार्नु भएको छ।
यो घोडा, मुगुका धनवीर विकको सम्पति हो । यही घोडाले धनवीरको रोजीरोटी चल्छ । हातमा नेपालको झण्डा लिएर उहाँ मुगुको छायाँनाथ रारा नगरपालिकामा सधैँ पर्यटकको पर्खाइमा बस्नुहुन्छ । रारा घुम्न आउने पर्यटकले घोडामा सयर गर्छन् । उहाँको लागि यो कमाउने एक मात्र विकल्प हो । यही घोडा लिएर उहाँ विकट स्थान पुग्नु हुन्छ । यातायात साधनका लागि यहाँ घोडा वा खच्चडको विकल्प छैन ।
कर्णाली प्रदेशको हुम्ला, मुगु, डोल्पामा पनि घोडा नै यातायातको साधन हो । चिनियाँ नाकाबाट सामान ओसार्न घोडा, खच्चड र याकको प्रयोग नभए खाद्यान्न भित्रँदैन । सुगमबाट खाद्यान्न ल्याउँदा पनि घोडा नै सहारा हुन्छ ।
ग्यासको सिलिन्डर लैजान होस् वा कुनै सामान हिमाली भेगमा पुर्याउन यसैको सहारा लिनुपर्छ ।
तर, घोडा पाल्न त्यति सहज छैन । महिनाको १० देखि १५ हजारसम्म घोडाको दाना पानीमा खर्च गर्नुपर्छ । व्यवसाय र यातायातको साधन भनेर १ लाखमा किनेको घोडाबाट हुने आम्दानी घोडाको स्याहारमै ठिक्क हुने गर्दछ ।
हिमाली र पहाडी जिल्लामा सडक नपुगेको होइन । तर, वर्खामा गाडी गुडाउन मुस्किल पर्छ । जुनसुकै मौसममा पनि घोडा कुदाउन मिल्ने हुँदा दुःख गरेरै भएपनि यहाँका स्थानीय घोडापालन गर्दछन् । भरिया लगाउन होस् वा यात्रुलाई चढाउन किन नहोस् आम्दानी आठ आना हुने लोभमा खर्च रुपैयाँ भनेझै गर्छन् ।
हिमाली भेगमा उत्पादन भएका वस्तु विक्री गर्न बजारसम्म ल्याउन पनि घोडाकै प्रयोग हुन्छ । तर, खर्च अनुसारको आर्थिक उपार्जन हुँदैन । आगन्तुकका लागि घोडा देख्दा जति आनन्दको महसुस हुन्छ दुर्गमबासीका लागि यो त्यति नै पीडा हो । तर, यो विना जीविका चल्दैन भन्ने बुझेकाका लागि घोडा निर्विकल्प साधन हो ।
प्रतिक्रिया