वन डढेलोका घटनालाई न्यूनीकरण गर्न बाँकेमा यस्तो पहल (भिडियो रिपोर्टसहित)
![वन डढेलोका घटनालाई न्यूनीकरण गर्न बाँकेमा यस्तो पहल (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2023/03/dadhelo-banke.jpg)
७ चैत २०७९ बाँके । प्रत्येक वर्ष सुख्खा मौसम सुरु भएसँगै हावाहुरीका साथै आगलागी, वन डढेलो, चट्याङ लगायतका विपद्का घटनाबाट ठूलो क्षति हुने गरेको छ ।
फागुन महिनामा मात्रै पनि ३ सय ११ वटा आगलागीका घटना भए भने ५ वटा वन डढेलोका घटना भइसकेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यसलाई न्यूनीकरण गर्न यतिबेला बाँकेको सामुदायिक वन उपभोक्ता समुह र स्थानीय सरकारले सामुहिक पहल सुरु गरेका छन् ।
वन डढेलो पहिचान तथा अनुगमन प्रणालीमा सन् २०२१ मा मात्रै नेपालमा साना ठूला गरी ४ हजार ४ सय भन्दा बढी डढेलोका घटना अभिलेख भएको थियो । हरेक वर्ष करिब २ लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको अनुमान छ ।
डढेलोबाट वार्षिक २ अर्ब भन्दा बढी सम्पत्तिको हानी नोक्सानी हुने गरेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ । अर्घाखाची, बाँके, बर्दिया, चितवन अछाम, बारा, डडेलधुरा, दाङ लगायतका १७ वटा जिल्ला डढेलोको उच्च जोखिममा छन ।
वनमा लाग्ने डढेलोले वन तथा वनमा पाइने घस्रने प्रजातिका जीवजन्तु सबैभन्दा बढी जोखिममा छन् । जीवजन्तुमात्र नभएर डढेलोले पानीको मुहान सुक्नेदेखि पूरै प्रणाली नै बिग्रने गर्दछ । वनलाई डढेलोबाट जोगाउन र डढेलो नियन्त्रणका लागि विभिन्न वनसम्बद्ध निकायहरुले बाँकेमा जनचेतना अभियान चलाउन थालेका छन् ।
वन जंगलमा जाँदा धुमपान नगर्न, वनमा आगो नलगाउन, आगो लागेको देखिएमा तत्काल निभाउनका चेतना अविवृद्धि गरिएको छ । साथै अग्निरेखा निर्माण गरेर डढेलो नियन्त्रणका लागि पालैपालो गस्ती थालिएको छ ।
वन विभागले वनमा आगो लागेको सूचना भू(उपग्रहका माध्यमबाट संकलन गरी सम्बन्धित जिल्ला तथा क्षेत्रका उपभोक्तालाई एसएमएस मार्फत दिने व्यवस्था मिलाएको छ । नेपालमा करिब ९० प्रतिशत डढेलो मानवीय कारणले लाग्ने गरेको छ ।
डढेलोबाट वन क्षेत्रमा अवस्थित सुकेका रुख, काठहरु, स–साना वनस्पति, हरिया रुख र कैयौं वन्यजन्तुहरु नष्ट हुँदै आएका छन । जनचेतना अभिबृद्धि गरेर सावधानी अपनाउन सके ५० देखि ७० प्रतिशत सम्म डडेलोको घटना नियन्त्रण गर्न सकिने बिज्ञ बताउँछन् ।
प्रतिक्रिया