सासुससुराले नै गरे ‘विधवा बुहारी’को कन्यादान (भिडियो रिपोर्टसहित)

२०७९ फागुन २८ गते १८:०१
सासुससुराले नै गरे ‘विधवा बुहारी’को कन्यादान (भिडियो रिपोर्टसहित)

२८ फागुन २०७९ दाङ । पुरुषले श्रीमतीको निधन भएकै दिन अर्को बिहे गरे पनि नेपाली समाजले अनौठो मान्दैन । तर, एकल महिलाको पुनर्विवाहबारे छलफल गर्न समेत हिच्किचाउने समाजमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ का शिव र विना श्रेष्ठ दम्पतीले भने आफ्नै बुहारीको पुनर्विवाह गरिदिएका छन् ।

विधवा बुहारीलाई हेलाहोचो गर्ने समाजमा शिव–विना फरक देखिए । बिहीबार आमन्त्रितहरूका माझ बुहारी आरतीको छोरीलाई जसरी विधिपूर्वक विवाह सम्पन्न गरेर बिदा गरियो ।

उदीर्ष्व नार्यभि जीवलोकं गतासुमेतमुप शेष एहि।
हस्तग्राभस्य दिधिषोस्तवेदं पत्युर्जनित्वमभि सम्बभूथ।

ऋग वेदमा लेखिएको यो श्लोकको अर्थ, पतिको मृत्यु भएपछि कुनै पनि स्त्रीले उसको यादमा जीवन बिताउनुपर्छ भन्ने छैन । अर्को पुरुषलाई विवाह गरेर जीवन अघि बढाउने पूरै छुट स्त्रीलाई छ । यही श्लोकलाई दाङको तलुसीपुर उपमहानगरपालिका–६ का शिव–विना दम्पतीले चरितार्थ गरिदिएका छन् ।

शिव र विनाका छोरा सुविनसँग आरतीको बिहे भयो । बिहेको केही वर्षमा सुविन बिरामी परे, क्यान्सर भएको टुंगो लाग्यो । र, उनको मृत्यु भयो । छोराको मृत्युपछि आफ्नो सहारा बनेकी बुहारी आरतीलाई शिव–विनाले पढाए । गरिखाने बाटो देखाए । र, छोराको निधन भएको पाँच वर्षपछि धुमधामले विवाह गरिदिए ।

जन्मदिने बुबाआमा अरू नै भए पनि कर्म दिने बुबाआमा पाएकी आरतीले जुन घरमा बेहुली बनेर भित्रिइन् । त्यही घरबाट बेहुली बनेर अन्मिइन् । श्रीमानको मृत्युपछि जीवन नै बोझ लागिरहँदा अब आरतीले भने फेरि नयाँ गृहस्थी पाएकी छन् । बुहारी नभई छोरी भन्दै कन्यादान गरेका शिव आरतीको उज्जवल भविष्यको कामना गरिरहेका छन् ।

आरतीको विवाह नवलपरासी पश्चिम बर्दघाट नगरपालिका ५ पालडाँडाका चन्द्रध्वज केसीसँग गरिएको छ । चन्द्रध्वजले नै शिव र विनालाई भेटेर विवाहका लागि प्रस्ताव गरेका थिए । सन्तानको मृत्युपछि घरमै बसेकी बुहारीलाई छोरीका रूपमा अन्माउने दम्पतीको निर्णयले आरतीमा मात्र नभई श्रेष्ठ परिवार नै खुसी छ ।

नवलपरासी पूर्वको प्रतापपुर गाउँपालिका–१ बाट आरतीका बुबाआमा छोरीको बिहेमा आएका थिए । विवाहमा जनप्रतिनिधि, महिला अधिकारकर्मी, राजनीतिक दलका नेताको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *