दु:खको आहालमा वादी समुदाय (भिडियो रिपोर्टसहित)

२०७९ फागुन २७ गते १८:१९
दु:खको आहालमा वादी समुदाय (भिडियो रिपोर्टसहित)

२७ फागुन २०७९ दार्चुला । आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा पछाडि परेका दार्चुलाका बादीहरू आफ्नो स्वामित्वमा जग्गा नहुँदा र रोजगारीको कुनै अवसर नपाउँदा समस्यामा परेका छन् । आर्थिक अभावका कारण दैनिकी कष्टकर बन्दै गएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका, ९ गोकुलेश्वर किनारमै बस्दै आउनुभएकी माया दमाई आफ्नो नाममा जमिन नहुँदा अहिले समस्यामा हुनुहुन्छ ।

वर्षौैदेखि अरुकै जमिनमा घर बनाएर भोगचलन गर्दै आउनुभएकी उहाँ अहिले घर छोड्न भनेपछि समस्यामा हुनुहुन्छ । माया बस्नुभएको स्थान पहिले बगर थियो । अहिले बजारीकरण हुँदै गएपछि मालिकले घर जमिन खाली गर्न भनेपछि माया जस्ता थुप्रै अहिले कहाँ जाने भनेर असमञ्जसमा परेका छन् ।

वादी समुदाय चमेलिया किनारमा बालुवा निकाल्दै, गिट्टी कुट्दै जीविका चलाउँछन् । झण्डै ६० परिवार यही बगरमा बस्दै आएका छन् । थोरैसँग मात्र आफ्नो घर छ । घर भएकाको पनि आफ्नो नाममा स्वामित्व छैन । अहिले घर छोड्न भनेपछि केही भाडाको घरमा बस्न थालेका छन् ।

काम गर्न सक्नेका परिवारका कोही भारतमा मजदुरी गरिरहेका छन् । गाउँमा समुदायका युवा छैनन् । शौचालयदेखि खानेपानीको राम्रो व्यवस्था छैन । अहिले पनि नदी किनारमौ शौच गर्नुपर्ने बाध्यता छ । स्वास्थ्य जोखिम छ । तर, अहिले घरको न घाटको हुने अवस्थामा वादी समुदाय पुगेका छन् ।

जनप्रतिनिधि पनि समुदायका सबैलाई आर्थिक सहयोग गर्न नसकिने बताउँछन् । समुदायको उत्थानका लागि विभिन्न कार्यक्रम बनाएको दावी गरेपनि अहिलेसम्म उनीहरूले महसुस गर्न पाएका छैनन् ।

संविधानले हरेक नागरिकलाई आवासको हक हुने उल्लेख गरिएको छ । प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक उल्लेख छ । धारा ४० मा दलितको हकको व्यवस्था गरिएको छ । तर, यहाँका दलित समुदाय भनेर चिनिने वादी समुदायका नागरिकको आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकारको सुनिश्चितता हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *