आफ्नैबाट यसरी हडपियो जग्गा (भिडियो रिपोर्टसहित)

२०७९ फागुन ९ गते ७:४६
आफ्नैबाट यसरी हडपियो जग्गा (भिडियो रिपोर्टसहित)

९ फागुन २०७९ बारा । नाता–गोता तथा पारिवारिक सम्वन्धलाई नै ढाल बनाएर ठगी गर्ने प्रवृत्ति मौलाउँदै गएको छ । निरक्षर नै सबैभन्दा बढी ठगको चँगुलमा पर्ने गरेका छन् ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका पनि ठगको निशानामा परेको छ । जहाँ नाताले देवर पर्नेले गलत कागजात बनाएर अदालतबाट अढाई धुर जग्गा नै रोक्का गरिदिएका छन् ।

उहाँ हुनुहुन्छ, मोहनी देवी । २०७८ असार २२ मा उहाँका श्रीमान् बासुदेव राउतको निधन भयो । ९ दिनपछि उहाँको सासु मालेसरी अहिरीनको पनि निधन भयो । दुई जनाको मृत्युले शोकमा रहेकी मोहनीले गत असार १ मा ससुरा रामनारायण राउतको नाममा बारा जिल्ला अदालतबाट उहाँ बस्दै आउनुभएको अढाई धुर जग्गा रोक्का गर्नेसम्बन्धी पत्र आयो ।

पत्रको व्यहोरामा लेनदेन मुद्दामा बाटोको म्यादबाहेक २१ दिन भित्रमा प्रतिउत्तरपत्र र कानुनबमोजिम लिखित प्रमाणसहित उपस्थित हुन सूचित गरिएको थियो । यो मुद्दा खासमा नाताले देवर पर्ने दीपेन्द्र यादवले हालेका थिए । वृद्धभत्ता घरमै ल्याइदिन्छु भन्दै झुटो कागजमा सही गराएर दुःख दिएको उहाँको गुनासो छ ।

मोहिनीका ससुरा रामनारायण यादवको मदिरा सेवन गर्ने बानी थियो । दीपेन्द्रले रामनारायणसँग झुक्याएर २०७५ वैशाख १० को मिति जनाएर ५ लाखको कपाली कागज गरेको स्थानीयको भनाइ छ । त्यही कपाली कागजको आधारमा दीपेन्द्रले १० प्रतिशतका दरले ५ लाख साँवा र ३ वर्ष ९ महिनाको ब्याज १ लाख ८८ हजार ५५ रुपैयाँ ब्याजसहित ६ लाख ८८ हजार ५५ रुपयाँको विगो भराई पाउँ भन्दै जिल्ला अदालत बारामा मुद्दा दर्ता गराए ।

थप व्याज तथा अदालती शूल्क, अन्य दस्तुर लगायतको मुद्दा खर्चसमेत विपक्षीबाट भराउन वारेस विदेशीप्रसाद यादवमार्फत् अदालतमा जग्गा रोक्का गरेको छ । दीपेन्द्रले छिमेकी लेखनदास रुपेशप्रसाद यादवमार्फत् कपाली कागज बनाएको र विकास यादव र रामचन्द्र यादव साक्षी रहेको स्थानीयले आरोप लगाएका छन् ।

२०७८ माघ पहिलो साता दीपेन्द्रले बनाएको कपाली कागजको मिति भने २०७५ वैशाख १० गते उल्लेख छ । २०७५ को स्थानीय तह निर्वाचनअघि कपाली कागजलाई पनि अदालतले मान्यता दिने प्रचलन थियो । दीपेन्द्रले वडाको फर्जी कागजपत्र पेश गरेर वडाध्यक्षको हस्ताक्षरै नभएको पत्रमार्फत् जग्गा पास गराउन खोजेपछि मालपोत कार्यालय कलैयामा हल्लाखल्ला भएको थियो ।

वडाध्यक्षको हस्ताक्षरै नभएको घरबाटो सिफारिसका कारण २०७८ माघ १३ गते जग्गा पास नभएपछि माघ १६ गते दीपेन्द्रले कपाली कागजको आधारमा बारा जिल्ला अदालतबाट जग्गा रोक्का गराएका थिए । सोही घटनालाई लिएर स्थानीय र जनप्रतिनिधि सहितको टोली ईलाका प्रहरी कार्यालय सिमरा पुगेको थियो, जसमा प्रहरीको रोहवरमा दीपेन्द्रले आफूले रकम नलिएको स्वीकारेका थिए । प्रहरीको रोहवरमा भएको सो छलफलमा कित्ता नं ९६ को साढे २ धुर जग्गा नाति शिवा यादवको नाममा बकशपत्र रजिष्ट्रेसन गरी जग्गा नामसारी गर्ने लिखित निर्णय भएको थियो । तर, अहिलेसम्म पनि कार्यान्वयन भएको छैन ।

अहिले मोहिनी देबी ऐलानी जग्गामा बनाएको सानो फुसको छाप्रोमा बस्दै आउनुभएको छ । ससुराबाट कपाली कागज बनाएर जग्गा नै रोक्का गरेपछि मोहिनी अहिले घरको न घाटको हुने हो कि भन्ने भयमा बाँचरिहनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *