कपिलवस्तुको कोल्डस्टोर प्रयोगविहीन, करोडौँ लगानी खेर (भिडियो रिपोर्टसहित)

२०७९ फागुन ७ गते २०:४८
कपिलवस्तुको कोल्डस्टोर प्रयोगविहीन, करोडौँ लगानी खेर (भिडियो रिपोर्टसहित)

७ फागुन २०७९ कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा लुम्बिनी प्रदेश सरकार कृषि, पशुपंक्षी तथा सहकारी मन्त्रालयले बनाएको चिस्यान केन्द्र अर्थात कोल्डस्टार प्रयोगविहीन छ ।

३ सय टनका तरकारी तथा फलफूल भण्डारण गर्न सकिने दुईवटा कोल्डस्टोर अहिले खाली छन् । दुईवटा कोल्ड स्टोर बनेपनि स्थानीय कृषकलाई उत्पादनतर्फ आकर्षित गर्न नसक्दा राज्यको करोडौं लगानी बालुवामा पानी खन्याएजस्तै भएको छ ।

किसानले उत्पादन गरेको फलफूल र तरकारी भण्डारण गर्न सात करोड लागतमा बनाइएको कोल्ड स्टोर अहिले खाली छ । लुम्बिनी प्रदेश सरकार कृषि, पशुपंक्षी तथा सहकारी मन्त्रालयको ७५ प्रतिशत लगानी र सञ्चालकको २५ प्रतिशत लगानीमा चिस्यान केन्द्र निर्माण गरिएको हो । चिस्यान केन्द्र निर्माण भएको एक वर्ष वितिसक्दा यहाँ नगन्य मात्रामा फलफूल तरकारी भण्डारण भएको छ ।

कोल्ड स्टोर प्रयोगविहीन बन्नुमा स्थानीय स्तरमा फलफूल तथा तरकारीको उत्पादन न्यून हुनु प्रमुख कारण हो । त्यसमाथि प्रयोगबापत लाग्ने महँगो शूल्कले पनि कृषक कोल्डस्टोरतर्फ आकर्षित छैनन् । स्थानीय सरकारले उत्पादन र भण्डारण दुबैमा अनुदान दिए कोल्डस्टोरमा आकर्षित हुने कृषक बताउँछन् ।

कोल्ड स्टोरमा सामान्य कृषकको पहुँच छैन । उत्पादन पनि न्यून छ । तिनै तहका सरकारले विशेष योजना ल्याएर कृषि उत्पादन बढाउनतर्फ ध्यान दिनु जरुरी छ । नत्र भने ठूलो रकम लगानी भएको दुईवटा कोल्डस्टोरको संरचना निकट भविष्यमै खण्डहरमा परिणत नहोला भन्न सकिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *