पर्याप्त जनशक्ति नहुँदा अपरेशनको पालो पाउनै मुस्किल (भिडियो रिपोर्टसहित)

२०७९ फागुन ७ गते १६:२४
पर्याप्त जनशक्ति नहुँदा अपरेशनको पालो पाउनै मुस्किल (भिडियो रिपोर्टसहित)

७ फागुन २०७९ बाँके । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नागरिकलाई जटिल खालको शल्यक्रिया सेवा नेपालगञ्जको भेरी अस्पतालले दिँदै आएको छ ।

अस्पतालबाट जनरल सर्जरी, प्रसुती, हाड जोर्नी, नशा, मुत्ररोग, नाक, कान, घाटी, रोगको अप्रेशन सहितको सेवा दिइन्छ । बिरामीको शल्यक्रिया गरेर उपचार गर्ने कन्सल्टेन्ट सर्जन २३ जना छन् । तर, पर्याप्त साधन श्रोत नहुँदा उनीहरुले अप्रेसन टेबल पाउनै मुस्किल छ ।

भेरी अस्पतालको अप्रेशन थेयटरमा ५ वटा टेबल छन । ती ५ वटा टेबल मध्ये दुईदेखि तीनवटा टेबल शल्यक्रिया सहितको प्रसुती सेवामा प्रयोग हुन्छ । बाँकी टेबलमा जनरल सर्जरी, प्रसुती, हाड जोर्नी, नशा, मुत्ररोग, नाक कान घाटी रोगका बिरामीको शल्यक्रिया हुन्छ । दैनिक सात सयको हाराहारीमा अस्पताल पुग्ने नागरिकले बेड अभाब कै कारण शल्यक्रियाका लागि तीन चार महिनासम्म कुर्नुपर्ने बाध्यता छ ।

भेरी अस्पतालमा एक महिनामा सरदर ३ सय वटा अप्रेशन हुन्छ । चिकित्सकको संख्या पनि पर्याप्त भए पनि अप्रेसन थिएटर, पोष्टअफ बेड, नर्सिङ जनशक्ति, लगायतका श्रोत पर्याप्त नहुँदा विरामीले सहज रुपमा सेवा पाउन सकेका छैनन् ।

अहिले भेरी अस्पताल परिसरमै ३४ करोड लागतमा तीन वटा अप्रेसन थिएटरसहित दुई सय ४० शैय्याको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । एक डेढ महिनामै यहाँबाट सेवा सुरु गर्ने तयारी छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रिफरल अस्पतालको रुपमा रहेको भेरी अस्पताललाई ५ सय बेडको अस्पताल बनाउने घोषणा गरिएको तीन वर्ष भइसके पनि अहिले एक सय ६२ शैय्यामा सिमित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *