तुइन चुँडिएको दार्चुलामा बन्यो यस्तो पुल (भिडियो रिपोर्टसहित)

२०७९ फागुन ६ गते २०:४४
तुइन चुँडिएको दार्चुलामा बन्यो यस्तो पुल (भिडियो रिपोर्टसहित)

६ फागुन २०७९ दार्चुला । पछिल्ला ६४ वर्षमा तुइनबाट खसेर दार्चुलामा मात्रै ६३ जना महाकाली नदीमा हराए । अहिलेसम्म दुई जनाको मात्रै शव भेटिएको छ । ६१ जनालाई प्रहरी र स्थानीय तहको वडा कार्यालयले बेपत्ताको सूचीमा राखेका छन् ।

२०७२ मै तत्कालीन प्रधानमन्त्री केपी ओलीले तुइन विस्थापन गर्ने घोषणा गर्नुभएको थियो । तर, दार्चुलामा मात्रै अझै आधा दर्जन तुइन छन् । अहिले थप दुई पुल सञ्चालनमा आएपनि पूर्ण रूपमा तुइन विस्थापन भएका छैनन् ।

दार्चुलाको तुइन ब्यथा अहिलेको होइन । २०१६ साल यता तुइनका कारण ६३ जनाको मृत्यु भइसकेको छ । नेपालमा छैटौँ पञ्चवर्षीय योजना सुरु भएदेखि सरकारी अभिलेखमा तुइन उल्लेख गरिएको छ । सातौँ पञ्चवर्षीय योजनामा तुइनको अध्ययन सुरु गरिएको छ ।

पछिल्लोपटक २०७२ देखि सरकारले तुइन विस्थापन अभियानलाई गति दिए पनि दार्चुलामा मात्रै महाकाली वारपारका लागि अझै आधा दर्जनभन्दा बढी तुइन छन् । केही हट्दै छन् । अहिले फेरि दुई स्थानमा पुल बनेको छ । ब्यास गाउँपालिका वडा नम्बर २ स्थित मालघाट र वडा नम्बर ४ स्थित बर्तिघाटमा पुल निर्माण भएको छ । पुल बनेसँगै तुइनको जोखिम यात्राको बाध्यता हटेको छ ।

भारत र नेपाल दुवै पक्षबीचको सहमतिपछि पुल बनेको हो । अब अकालमा ज्यान गुमाउनुपर्ने अवस्था नआउनेमा दार्चुला र पिथौरागढका अधिकारीहरू विश्वस्त छन् ।

अहिलेसम्म १० स्थानमा पुल बनेका छन् । कहाँ कहाँ बने पुल ?
१‍. लेकम गाउँपालिका–३, दार्चुला
२. मालिकार्जुन गाउँपालिका–६, बाँकु
३. ब्यास गाउँपालिका–६, वडूगाउँ
४. ब्यास गाउँपालिका–५, तिगरम
५. खलंगास्थित पुलघाट
६. ब्यास गाउँपालिका सितपुल
७. महाकाली नगरपालिकाको दत्तु
८. मालिकार्जुन गाउँपालिकाको जोलजीवि
९. महाकाली नगरपालिका–८ असिगडा
१०. भारत पिथौरागढको मल्ला छारछुम

झोलुङ्गे पुलको भारततर्फ एसएसबी र नेपालतर्फ जनपथ प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिन थालेका छन् । नेपालतिर सडक कालोपत्रे नभएकाले ब्यासका नागरिकलाई भारतीय सडक नै सहज हुन्छ । दुई लेनको सडक निर्माण भएका कारण नागरिक भारतीय बाटोको प्रयोग गर्दै खाद्यान्न, दैनिक उपभोग्य सामान ढुवानी गर्छन् । ब्यास गाउँपालिकाको वडा नम्बर २ दुम्लिङमा भने अझै झोलुङ्गे पुल निर्माण भएको छैन । दुम्लिङमा पनि छिट्टै पुल सञ्चालनमा आए थप सहज हुने दावी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *