चिया तथा कफी विकास बोर्ड कर्मचारीविहीन (भिडियो रिपोर्टसहित)

२०७९ फागुन ३ गते १८:२७
चिया तथा कफी विकास बोर्ड कर्मचारीविहीन (भिडियो रिपोर्टसहित)

३ फागुन २०७९ धनकुटा । चिया तथा कफीको विकास र विस्तार गर्ने उद्देश्यले धनकुटाको हिलेमा २०४१ सालमा चिया तथा कफी विकास बोर्ड अन्तरगतको कार्यलय स्थापना गरियो ।

केही समय राम्रै सेवा प्रवाह समेत भयो । तर, पछिल्लो समय दरबन्दी अनुसार कर्मचारी व्यवस्थापन नहुँदा न कार्यालय नै खुलेको छ न पाँच जिल्ला हेर्न जिम्मेवारी पाएको बोर्ड नै सक्रिय छ ।

राष्ट्रिय चिया तथा कफीको विकास बोर्डको हिलेस्थित कार्यालयमा ६ जना कर्मचारीको दरबन्दी छ । लामो समयदेखि कार्यालय प्रमुखविहीन छ । । लेखाप्रमुख बसन्तराज भण्डारीलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ । कार्यालयमा अन्य कुनै कर्मचारी उपस्थित हुँदैनन् ।

दरबन्दीअनुसारको कर्मचारी नहुँदा तथा भएका कर्मचारी समेत काजमा अन्यत्र जाँदा कार्यालयले प्रवाह गर्ने सेवा प्रवाह त छोडौँ दैनिक कार्यालय खोल्न समेत समस्या हुनेगरेको छ । दुई जना कृषि प्राविधिकको दरबन्दी भएपनि एक पद खाली छ । कृषि प्राविधिक रेनु कैला काजमा प्युठानमा हुनुहुन्छ ।

फिल्ड सहायक पदका कर्मचारीले अवकाश पाएपछि कर्मचारी नियुक्त गरिएको छैन । कार्यालय सहयोगी दिनेश बर्मा काजमा काठमाडौँमा हुनुहुन्छ । अहिले तेह्रथुम कार्यालयका लेखापाल रामकुमार आङ्गदेम्बेलाई हिले र तेह्रथुमस्थित कार्यालय हेर्नेगरी जिम्मेवारी दिइएको छ ।

दोहोरो जिम्मेवारी पाएका आङ्गदेम्बे तेह्रथुममा हुने तथा कार्यालयका निमित्त प्रमुख बसन्तकुमार राजभण्डारी बढी समय फिल्डमै रहने हुँदा कार्यालय प्राय बन्द रहने गरेको छ । कार्यालय खुलेपनि कर्मचारी नभएपछि सवाग्राहीले सेवा लिन पाएका छैनन् । कर्मचारी नहुनु तथा अझ प्राविधिक नहुँदा चिया तथा कफीको बारेमा जानकारी लिन सेवाग्राहीले पाएका छैनन् ।

यो कार्यालयलाई पाँच जिल्लाको जिम्मेवारी छ । हिले स्थीत कार्यलयले चिया तथा कफीको क्षेत्रमा धनकुटा सहित भोजपुर, खोटाङ्ग, मोरङ्ग र संखुवासभा हेर्नुपर्छ । तर, कर्मचारी नै नहुँदा यी सबै ठाउँमा समस्या निम्तिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *