भारतीय विदेश सचिवको शीर्ष राजनीतिक नेतृत्वसँग शृंखलाबद्ध भेटवार्ता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन २ गते २०:२९
भारतीय विदेश सचिवको शीर्ष राजनीतिक नेतृत्वसँग शृंखलाबद्ध भेटवार्ता (भिडियो रिपोर्टसहित)

२ फागुन २०७९ काठमाडौं । दुईदिने औपचारिक नेपाल भ्रमण सकाएर भारतीय विदेशसचिव विनयमोह क्वात्रा स्वदेश फर्किनुभएको छ । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपाल आउनुभएका क्वात्राले दुईपक्षीय छलफलदेखि राष्ट्रपति, प्रधानमन्त्री र राजनीतिक दलका शीर्ष नेतालाई भेट्नुभयो ।

व्यस्त तालिकामा भ्रमण सकाएर फर्किदै गर्दा प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ता दिने अपेक्षा गरेपनि त्यसो भने हुन सकेन । यद्यपी, सीमा विवाद सीमा कार्यदालले टुंग्याउनेमा सहमति भने जुटेको छ । जुन यसअघिकै निरन्तरता हो ।

दुईदिने औपचारिक भ्रमणका लागि भारतीय विदेशसचिव विनयमोहन क्वात्रा सोमबार बिहान काठमाडौँ ओर्लिनुभयो । पहिलो दिन शीर्ष राजनीतिक नेतृत्वसँग शृंखलाबद्ध भेटवार्तामै ब्यस्त रहनुभयो । क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग परराष्ट्रमन्त्री डा। विमला राई पौड्यालसँग शिष्टाचार भेट गर्नुभयो । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीसँग सोमबार नै राजनीतिक भेटघाट पनि गर्नुभयो ।

राष्ट्रपति भण्डारीसँगको भेटमा क्वात्राले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले पठाएको शुभेच्छा सन्देश सुनाएका थिए । परराष्ट्रका अनुसार दुई देशबीचको ऐतिहासिक सम्बन्धका साथै कनेक्टिभिटी, ऊर्जा व्यापारलगायत द्विपक्षीय सहयोगका विषयमा छलफल भएको छ । प्रधानमन्त्री प्रचण्डसँगको भेटमा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिलगायतका विषयमा नेपाल–भारत सहकार्यबारे छलफल गरे । तर, औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिने अपेक्षा गरेपनि कुनै प्रस्ताव भने आएन । राष्ट्रपति निर्वाचन र बदलिँदो सत्ता समीकरणका कारण तत्काल भारत पर्ख र हेरको नीतिमा छ भन्ने पनि प्रष्ट भएको छ ।

परराष्ट्रमन्त्रीसँगको भेटमा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाई रुटका सम्बन्धमा छलफल भएको मन्त्रालयले जारी विज्ञप्तिमा उल्लेख छ । कांग्रेस सभापति देउवासँगको भेटमा द्विपक्षीय पारस्परिक हितका विभिन्न विषय र दुई देशका जनताबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल गर्नुभयो।

सोमबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा आपसी हित तथा जनस्तरको सम्बन्धबारे छलफल भएको थियो । क्वात्राले आज बिहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गर्नुभएको थियो । उपप्रधानमन्त्री एवं भौतिक, पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसँग क्वात्राले शिष्टाचार भेटवार्ता भएको थियो । देउवा, ओली र नेपालसँग भएको भेटमा भने परराष्ट्रका अधिकारीको उपस्थिति थिएन।

भेटघाटमै समय व्यतित गरेपनि परराष्ट्रसचिवस्तरीय बैठकमा सीमा विवादका विषयमा पनि छलफल भएको थियो । त्यसलाई सीमा कार्यदालले टुंग्याउने सहमति भएको छ । यसलाई कालापानी, लिम्पियाधुरा वा लिपुलेकसँग जोडिने वा नजोडिने प्रष्ट नभएपनि सुस्ता विवादलाई भने यसले समेटेको कुटनीतिक मामिलाका जानकारको बुझाई छ ।

नयाँदिल्लीमा गत २९ भदौमा भएको परराष्ट्रसचिवस्तरीय बैठकमा पनि यही विषयमा सहमति भएको थियो । यस्तै, यो पटक नेपालले स्पष्ट रूपमा हवाई प्रवेश रूट उपलब्ध गराउन गरेको प्रस्तावमा भारत सकारात्मक देखिएको छ । यस्तै, बीबीआइएनबाट विद्युत, रेल, पूर्वाधारका क्षेत्रमा काम गर्न सकिने विषयमा पनि दुईदेशबीच सहमति भएको छ । यद्यपी छलफलमा भारतीय गोर्खा सैनिकका बारेमा भने छलफल भएन । ‘अग्निपथ’को मुद्दा पेचिलो बनिरहेको भएपनि भारतले कुनै जानकारी भने गराएन ।

शिष्टाचार भेट र राजनीतिक भेटघाट सकाएर क्वात्रा फर्किदै गर्दा यो भ्रमणलाई कतिपयले भूराजनीतिमा भारतले पनि आफ्नो स्थान देखाउन खोजेको सन्देश प्रवाह गरेको बताएका छन् ।

कतिपयले प्रधानमन्त्रीलाई निमन्त्रणा नदिनु र सबै राजनीतिक दलसँग भेटेर जानुले राष्ट्रपति निर्वाचनमा अनौपचारिक चासो राखेको हो कि रु भन्ने संशय भने यथावत रहेको बताएका छन् । यद्यपी, यो पटक सीमा समस्या तथा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रूट उपलब्ध गराउन गरिएको आग्रहले भविष्यमा भारतीय पक्षबाट सहयोग मिल्ने आश भने गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *