यसरी सुगम बन्दैछ मोरङको मिक्लाजुङ (भिडियो रिपोर्टसहित)

२०७९ माघ २७ गते १८:१८
यसरी सुगम बन्दैछ मोरङको मिक्लाजुङ (भिडियो रिपोर्टसहित)

२७ माघ २०७९ मोरङ । मोरङका उत्तरी क्षेत्रका केही स्थान निकै विकट छन् । पाँचथर र इलामसँग सीमा जोडिएको मिक्लाजुङ गाउँपालिका मोरङको सबैभन्दा विकट स्थानीय तह हो ।

जहाँका स्थानीयलाई सदरमुकाम विराटनगर आउनै सास्ती छ । अहिले प्रदेश १ ले यस क्षेत्रलाई तराई र पाँचथर जोड्न सडक निर्माण गरिरहेको छ । जसका कारण स्थानीय आफ्नो जीवनस्तर उकासिने आशले खुसी छन् ।

प्रदेश १ सरकारले सडकतर्फको आफ्नो पहिलो परियोजनाका रुपमा सुरु गरेको मोरङको किसान चौक, आइतबारे रवि सडक निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको छ । प्रदेश सरकारको ६७ करोड लागतमा निर्माण भइरहेको १९ किलोमिटर लामो सडकले मोरङको किसान चौकदेखि उत्तरमा पर्ने मिक्लाजुङ गाउँपालिका जोडेको छ ।

अहिले सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । सडक निर्माण भएपछि मिक्लाजुङबाट पूर्व पश्चिम राजमार्गसम्म आधा घण्टामै पुग्न सकिन्छ । सडक सञ्जालले जोडिएपछि स्थानीयले आफ्नो उत्पादन सहज रुपमा बजारसम्म पुर्‍याउन सक्नेछन् ।

प्रदेश सरकारको पहिलो प्रादेशिक सडकका रुपमा निर्माण भइरहेको यो सडकका कारण त्यस क्षेत्रको पर्यटन विकास र पहाडदेखि तराईको बसाईं सराईमा समेत कमी आउने अपेक्षा छ ।

प्रदेश सरकारले २०७६ असोजमा यो सडक योजनालाई अघि सारेको थियो । अहिले ८५ प्रतिशत काम सकिएको छ । आगामी चैत मसान्तसम्म निर्माण सकेर सडक पूर्ण रुपमा संचालनमा ल्याउने तयारी छ ।

भेडेटारदेखि राँके हुँदै पाँचथर सदरमुकाम फिदिम जोडिने सडकको निर्माण पनि भइरहेको छ । उर्लाबारीको किसानचौक, टाँडी, रमितेको आइतबारे हुँदै डाँडेगौंडा जोड्ने यो सडक निर्माण सम्पन्न भएपछि झापाबाट इलाम हुँदै पाँचथर सडकको सहज विकल्प समेत बन्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *