जीर्ण बन्दै कर्णाली पुल, मर्मत गर्न छैन कसैको चासो (भिडियो रिपोर्टसहित)

२०७९ माघ २५ गते १७:४१
जीर्ण बन्दै कर्णाली पुल, मर्मत गर्न छैन कसैको चासो (भिडियो रिपोर्टसहित)

२५ माघ २०७९ कैलाली । कैलालीको लम्की चुहा नगरपालिका–३ चिसापानीस्थित पूर्वपश्चिम राजमार्गबाट सुदूरपश्चिमलाई जोड्ने कर्णाली नदीको पुल जीर्ण बन्दै गएको छ ।

पर्यटकीय हिसाबले समेत महत्वपूर्ण मानिएको पुल रेखदेखको अभावमा जीर्ण बन्दै गएको हो । पुलका सामानमा खिया लाग्न थालेका छन् । सामान्य हावा चल्दा पनि पुल हल्लिने भइसक्दा मर्मत गर्न कसैले चासो दिएका छैनन् ।

एउटा मात्रै पिलरमा निर्मित केबुल तारयुक्त पाँच सय मिटर लम्बाई भएको यो नमूना पुल नियमित मर्मत सम्भार नहुदा जीर्ण बन्दै गएको छ । २०५० सालमा निर्माण सम्पन्न भएको यो पुल अहिलेसम्म मर्मतसम्भार तथा रङरोगन भएको छैन । मर्मतसम्भारको जिम्मा सडक डिभिजन कार्यालय नेपालगञ्जलाई दिइएको छ । तर, प्राविधिक टोली अहिलेसम्म आएका छैनन् ।

पुल निर्माण भएदेखि अहिलेसम्म मर्मत भएको छैन । २०७४ साल बाट रेखदेख समेत हुन छाड्यो । पटक पटक पुलको मर्मत गर्न सडक विभागलाई पत्र काट्दा पनि कसैले चासो दिएका छैनन् ।

पुलमा खिया लागेर नटबोल्ट झर्न थालेका छन् । पुललाई अड्याउन राखिएको केबुल तार चुँडिएका छन् । पुलको सन्तुलन बनाउन तारमा जोडिएका ‘बल’ खस्न थालेका छन् ।

पुलको पूर्वतर्फका बल फुटेका छन् भने तार हावा चल्दा अस्वभाविक रुपमा हल्लिने गरेको छ । यो पुल भूगोललाई मात्र जोडने नभएर पर्यटकका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।

चिसापानीस्थित कर्णाली पुल हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । नेपालका विभिन्न जिल्लासहित भारतको उत्तर प्रदेश र उत्तराखण्डका विभिन्न सहरबाट समेत भारतीय नागरिक चिसापानी पुल हेर्न आउने गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *