सुदूरपश्चिम मुख्यमन्त्रीले २५ गते विश्वासको मत लिने (भिडियो रिपोर्टसहित)

२०७९ माघ २३ गते २०:४३
सुदूरपश्चिम मुख्यमन्त्रीले २५ गते विश्वासको मत लिने (भिडियो रिपोर्टसहित)

२३ माघ २०७९ काठमाडौं । नियुक्त भएको २८ दिनपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ ।

अन्य ६ वटै प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिइसक्दा सुदूरपश्चिममा भने मुख्यमन्त्रीले बल्ल मत लिने तयारी गर्नुभएको छ । नागरिक उनमुक्ति पार्टीले विश्वासको मत दिन लचक भएसँगै माघ २५ गते विश्वासको मत लिएर मुख्यमन्त्री पद सुरक्षित गर्ने रावलको योजना छ ।

मुख्यमन्त्री बनेर पनि अहिलेसम्म सुदूरपश्चिम प्रदेशको सरकार सञ्चालन गर्न राजेन्द्रसिंह रावल असमर्थ हुनुहुन्थ्यो । नागरिक उनमुक्ति पार्टीले विश्वासको मत नदिए सरकार ढल्न सक्ने भएसँगै रावल नागरिक उनमुक्तिलाई फकाउनमै २७ दिनदेखि प्रयत्नरत हुनुहुन्थ्यो ।

विश्वसनीय आधार तयार नहुँदा मुख्यमन्त्री रावलसँगै २८ पुसमा मन्त्रीको शपथ लिएका नेकपा माओवादी संसदीय दलका नेता खगराज भट्ट र एमालेका सन्तोष थापा शर्माले मन्त्रालयको जिम्मेवारी पाउनुभएको छैन । टीकापुर घटनाको सन्दर्भमा झगडिया झिकाउन सर्वोच्च अदालतले आदेश दिएसँगै विश्वासको मत दिन नागरिक उनमुक्ति बल्ल लचक भएको छ ।

अहिलेसम्म विश्वासको मत दिने विषयमा निर्णय नभए पनि पार्टी सकरात्मक रहेको सत्तारुढ दलको बुझाई छ । त्यसैलाई आधार मान्दै मुख्यमन्त्री रावलले २५ गते विश्वासको मत लिने तयारी सुरु गर्नुभएको छ ।

पुस २७ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका रावलले माघ २७ अघि नै विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता छ । रावल २९ जना प्रदेश सभा सदस्यको समर्थनमा गत २७ पुसमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ । माओवादीका सभामुखबाहेक १०, एमालेका १० र राप्रपाको एक गरी सत्तापक्षमा २१ मत छ । सात सिट रहेको नागरिक उन्मुक्तिले साथ दिए मात्र सत्ता पक्षको बहुमत पुग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *