खेलकूद

स्पट फिक्सिङ : अन्तर्राष्ट्रियस्तरमै नेपाली क्रिकेटको छवि धुमिल्लिदै (भिडियो रिपोर्टसहित)

२०७९ माघ १० गते २१:३७
स्पट फिक्सिङ : अन्तर्राष्ट्रियस्तरमै नेपाली क्रिकेटको छवि धुमिल्लिदै (भिडियो रिपोर्टसहित)

१० माघ २०७९ काठमाडौं । सुरुवातदेखि आलोचना र विवादमा तानिएको नेपाल ट्वेन्टी–ट्वेन्टी लिगमा मिलेमतो भएको आरोप लाग्यो । त्यही आरोपको आशंकाबीच नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ३ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो आयोजनामा भएको लिगलाई अहिलेसम्मकै उत्कृष्ट फ्रेन्चाइज लिग दाबी गरे पनि यो प्रतियोगिता नेपाली क्रिकेटकै विवादास्पद लिग मात्र बनेन् यसले अन्तर्राष्ट्रियस्तरमै नेपाली क्रिकेटको छवि धुमिल्लिएको छ ।

नेपाल ट्वेन्टी-ट्वेन्टी लिगमा स्पट फिक्सिङ गरेको आरोपमा नेपाल प्रहरीले पूर्वखेलाडी महबुब आलम, राष्ट्रिय टोलीका आदिल अन्सारी र अर्का एक व्यक्तिलाई पक्राउ गर्‌यो । यसले नेपालमा मात्र नभई विश्व क्रिकेटकै ध्यान नेपालमा तानिएको छ ।

सोमबार पक्राउ परेका उनीहरुलाई काठमाडौं ल्याई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतले ५ दिन म्याद थप गरि सिआईबीको हिरासतमा राख्ने अनुमति दिएको हो । स्पट फिक्सिङमा ४ नेपाली र ६ विदेशी गरि १० जनाको संलग्नता रहेको सिआईबी अनुसन्धानले देखाएको छ ।

खेलाडीलाई सामाजिक सञ्जाल, टेलिफोन र प्रत्यक्ष भेटेरै फिक्सिङका लागि प्रस्ताव गरेको पाइएको सिआईबीको निष्कर्ष छ । अहिले नै यकिन नभए पनि स्पट फिक्सिङका लागि ६ देखि १० लाख दिने गरि प्रस्ताव गरेको पाइएको सीआइबीले जनाएको छ । सिआईबीको अहिलेसम्मको अनुसन्धानमा आयोजक नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीको प्रत्यक्ष संलग्नता नदेखिए पनि अनुसन्धानका क्रममा छानविनको दायरामा ल्याइने छ ।

प्रारम्भिक अनुसन्धानमा क्यानको साझेदार संस्था सेभेन थ्री स्पोर्टस नै संलग्न देखिएको छ । अनुसन्धानका अनुसार स्पट फिक्सिङका योजनाकार सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया हुन् । सेभेन थ्री स्पोर्टसले ८ वर्षका लागि ३३ करोड रुपैयाँ बुझाउने गरी क्यानसँग लिग गर्ने सम्झौता गरेको थियो । जतिन कार्यवहाक महासचिव प्रशान्तबिक्रम मल्लमार्फत क्यानसम्म पुगेका हुन् ।

विवादास्पद कम्पनीलाई १० वर्ष लिग आयोजनाको जिम्मेवारी दिन लागेको भन्दै क्यान पदाधिकारीलेनै विरोध गरेपछि सम्झौता रद्द गरे पनि गत वर्ष फागुनमा फेरि जतिनकै कम्पनीलाई ८ वर्षका लागि लिग गर्ने जिम्मा दिइएको थियो ।

क्यानका केही पदाधिकारीले विरोध गरे पनि क्यान अध्यक्ष चतरबहादुर चन्द, महासचिव मल्ल, कोषाध्यक्ष रोशनबहादुर सिंह र सदस्यहरु दुर्गाराज पाठक र पदम खड्काको जोडबलमा क्यानले सेभेन थ्रिलाई नेपालमा ल्याएको हो । सुरुवातदेखि सम्झौताको बचाउ गरिरहेकाहरु अहिले छानबिनको दायरामा आउने भएपछि बचाउमा लागेको छ ।

क्यानका अधिकांश पदाधिकारीको साथ पाएका जतिनले लिगलाई यतिसम्म विवादित बनाए कि उनले सहभागी फ्रेन्चाइज टोलीहरुको पारदर्शीतामा कुनै वास्ता गरेनन् ।

पोखरा एभेन्जर्स र लुम्बिनी अलस्टार्स बाहेक अन्य ४ टोली विदेशीको स्वामित्व थियो । तर उनीहरुले खेलाडी पारिश्रमिकसम्म पनि नदिएको बाहिर आउनु अघिनै जतिन नेपाल छाडेर भारत गइसकेका थिए । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै लामो समय आईसीसीको निलम्बनमा परेको क्यानलाई आफ्नो छवि सुधार गर्ने मौका थियो । तर एक पछि अर्को विवादित निर्णय र आफ्नै आयोजनामा भएको लिगमा फिक्सिङ जस्तो गम्भीर आरोप लाग्दा नेपाली क्रिकेट फेरि अँध्यारो सुरुङमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्