खेलकूद

स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको सीआईबीको निष्कर्ष

हिमालय टिभी
२०७९ माघ १० गते १७:०२
स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको सीआईबीको निष्कर्ष

१० माघ २०७९ काठमाडौं । नेपाल टी–२० क्रिकेट प्रतियोगिताको स्पष्ट फिक्सिङमा चार सहभागी टोलीकै व्यवस्थापकसहित १० जना संलग्न रहेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले जनाएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा सीआईबीले प्रतियोगितामा सहभागी टोलीमध्येको चार टिम काठमाडौं नाइट्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फारवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता रहेको जनाएको हो । साथै फिक्सिङमा एक नेपाली र एक विदेशी गरी २ जना खेलाडी संलग्न रहेको सीआईबीले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै सीआईबीका कार्यवाहक प्रवक्ता एसपी सञ्जयसिंह थापाले महबुब आलमले दुई नेपाली खेलाडीलाई फिक्सिङका लागि आर्थिक प्रलोभन देखाएको तथा दुई खेलाडी र चार विचौलियासहित १० जना यस घटनामा संलग्न देखिएको थापाले जानकारी दिनुभयो ।

गृह मन्त्रालयको निर्देशनपछि थालेको अनुसन्धानमा खेलाडीलाई ६ देखि १० लाख रुपैयाँसम्मको प्रस्ताव गरिएको सीआईबीले जनाएको छ । फिक्सिङका लागि उनीहरुलाई प्रत्यक्ष तथा अन्य समाजिक सञ्जाल र फोन, सन्देशबाट अप्रत्यक्ष रुपमा प्रलोभनमा पार्ने प्रयास गरिएको थियो । यस्तै सिआईबीकै अनुसन्धानले प्रतियोगितामा कमर्सियल पार्टनरको रुपमा रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको भूमिकासमेत शंकास्पद रहेको जनाएको छ ।

पुस ९ गतेबाट शुरु भएको प्रतियोगिताको लिग चरणअन्तर्गत काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेलका दौरान दुवै टोलीका खेलाडीले पारिश्रमिक नपाएको भन्दै मैदान उत्रन अस्वीकार गरेपछि नेपाल टी–२० लिगको विवाद र फिक्सिङ प्रकरण बाहिरिएको थियो । सो खेलपछि काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको र आफूहरुले यसबारे एन्टी करप्सन युनिट (एसीयु) लाई जानकारी गराएको जनाएका थिए ।

स्पट फिक्सिङमा संलग्न भएका मेहबुबबाट आदिल अन्सारीलाई एउटा नो बल र एउटा वाइड फाल्न एप्रोच भएको थियो । जम्मा पाँच जना खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव गरिएको उनको भनाइ छ । अन्य फिक्सिङमा संलग्न नाम भने पत्रकार सम्मेलनमा सार्वजनिक गरिएन । कार्यवाहक प्रवक्ता थापाले अनुसन्धानको काम भइरहेको अवस्थामा कसुर भइ ठहरिएमा पक्राउ गर्ने कठिन हुने भन्दै अन्यको नाम सर्वाजनिक नगरेको बताए । साथै यसमा नेपाल क्रिकेट संघ (क्यान) को कुनै संलग्नता नभएको सीआईबीले जनाएको छ ।

मुलुकी अपराध संहिता २०७४ ले खेल मिलेमतो तथा म्याच फिक्सिङसम्बन्धी कसुरमा सजाय निर्धारण गरेको छ । संहिताको दफा ५१ उपदफा ३ मा नेपालमा वा विदेशी मुलुकमा खेल मिलेमतो गरे ३ वर्षसम्म कैद र ३ हजारसम्म जरिवाना तोकेको छ । त्यस्तै फिक्सिङमा लेनदेन भएको रकम सबै जफत हुने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्