खोटाङका युवाले पाए टुर गाइडको तालिम (भिडियो रिपोर्टसहित)
७ माघ २०७९ खोटाङ । खोटाङ पुग्ने जो कोही हलेसी महादेव मन्दिर दर्शन गरेर फर्किन्छन् । तर, खोटाङमा महादेव मन्दिरबाहेक धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्वका स्थल पनि छन् ।
जुन सबैलाई थाहा छैन । खोटाङ पुग्ने धार्मिक पर्यटकलाई जिल्लाका बारेमा यथेष्ट जानकारी होस् भन्ने उद्धेश्यले हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय युवालाई गाइड प्रशिक्षण दिएको छ ।
विश्वप्रसिद्ध त्रि(धार्मिक स्थल तपोभूमि खोटाङ आउने पर्यटकले यथार्थ बुझ्न पाउने भएका छन् । नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटेल म्यानेज्मेण्ट न्याथमसँगको सहकार्यमा हलेसी तुवाचुङ नगरपालिकाले ३१ जना स्थानीय युवालाई गाइड प्रशिक्षण दिएको छ । अब यी युवाले हलेसी र आसपासका पर्यटकीय क्षेत्रको ऐतिहासिक महत्व पर्यटकलाई बुझाउनेछन ।
धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ । हलेसीमा शिवलिंग, पाप, कर्मद्वार, जन्मद्वार, धर्मद्वार, पार्वती थान, विष्णुलक्ष्मी, वासुकी नाग, महादेवगुफा, भैरवगुफा, बसाहा गुफा, छिमे ताक्तेन छोलिङ गुम्बा, तुवाचुङ–जायजुङ, रक गार्डेन, ककनी मन्दिर, होलेसुङगढी, भुम्जुगढी, ताराखसे, खाम्तेलगढी, घोर्चु मंगलटार, गुप्तेश्वर महादेव, सप्तेश्वर महादेव लगायत धार्मिक तथा पर्यटकीयस्थल छन् । तर, यी स्थानका बारेमा पर्यटकलाई जानकारी नै छैन् ।
हलेसी महादेव दर्शन गर्न आउने पर्यटकलाई अन्य स्थलका बारेमा जानकारी गराउन सकेको खण्डमा उनीहरुको बसाई लम्ब्याउन सकिन्छ । यसले स्थानीयको रोजगारी र आर्थिक वृद्धिमा सघाउनेछ ।
हलेसीमा हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरु आ–आफ्नै तरीकाले पुजापाठ गर्ने गर्छन । हिन्दु धर्ममा आस्था राख्नेहरुले यसलाई पशुपतिनाथको रुपमा, बौद्ध धर्मावलम्बीहरुले दोस्रो लुम्बिनीको रुपमा र किरात धर्मावलम्बीहरुले आदिम भूमीको रुपमा पूजागर्ने गरेका छन् ।
प्रतिक्रिया