सुदूरपश्चिम सभामुख सहमतिको सकस (भिडियो रिपोर्टसहित)

२०७९ माघ २ गते २१:१६
सुदूरपश्चिम सभामुख सहमतिको सकस (भिडियो रिपोर्टसहित)

२ माघ २०७९ काठमाडौं । संविधानले तोकेको समयभित्र सभामुख र उपसभामुख समयमा चयन गर्न नसक्दा सुदूरपश्चिम प्रदेशसभामा संवैधानिक व्यवस्था उल्लंघन भएको छ ।

प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख दुवैको निर्वाचन सक्नुपर्ने भएपनि सत्तापक्षले सहमति जुटाउन नसक्दा चयन प्रक्रिया लम्बिएको छ । दलहरूले संवैधानिक त्रुटि गरेको कानूनविद्ले आरोप लगाएका छन् । प्रतिपक्ष दलले समेत सरकारको अकर्मण्यता देखिएको टिप्पणी गरेको छ ।

नेपालको संविधानको धारा १८२ मा उपधारा १ मा ‘प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्नेछन्‚’ भन्ने उल्लेख छ ।

सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक पुस १८ गते बसेको थियो । अर्थात माघ २ गते बैठक प्रारम्भ भएको १५ दिन पुग्छ । यो समय सीमाभित्र सुदूरपश्चिम प्रदेशसभाले सभामुखको निर्वाचन प्रक्रिया सुरु भएपनि उपसभामुखको मनोनयन दर्ता हुन सकेन ।

संवैधानिक रूपमा माघ २ गते भित्र निर्वाचन गर्दा कुनै अड्चन देखिँदैन थियो । तर, पोखरामा आइतबार भएको विमान दुर्घटनापछि सरकारले शोक बिदा दिएपछि बैठक बस्न सकेन । मंगलबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको छ । सत्तापक्षले नागरिक उनमुक्ति पार्टीलाई सहमतिमा ल्याउन नसक्दा दुई पटक निर्वाचन हुँदा पनि सभामुख चयन हुन सकेन । दलहरूको अकर्मण्यताका कारण प्रदेशसभाले अरु बिजनेश पाएको छैन । सत्तापक्षका कारण संवैधानिक त्रुटि देखिएको प्रतिपक्ष दलले आरोप लगाएको छ ।

प्रदेश सभा नियमावली मा सभामुखको निर्वाचन र ९ मा उपसभामुखको निर्वाचनबारे व्यवस्था छ । प्रदेश सभा नियमावलीको धारा ९ को उपधारमा १ मा ‘उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने छ’ भन्ने उल्लेख छ । १५ दिन सम्म पनि सभामुख र उपसभामुख चयन गर्न नसक्नु दलहरूको असफलता मात्र नभई कानूनको उल्लंघन पनि हो ।

कांग्रेसबाट मानबहादुर रावल र माओवादी केन्द्रबाट भीम भण्डारी सभामुखका उम्मेदवार छन् । पहिलो पटक पुस २८ मा भएको निर्वाचनमा एक मत अपुग भएको थियो भने दोस्रो पटक पुस ३० मा उन्मुक्तिका ७ सांसदले मत नदिँदा सभामुख चयन भएन । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *