रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान, आर्थिक विकास हुने गुल्मेलीको विश्वास (भिडियो रिपोर्टसहित)

२०७९ पुष २७ गते १८:३२
रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान, आर्थिक विकास हुने गुल्मेलीको विश्वास (भिडियो रिपोर्टसहित)

२७ पुस २०७९ गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट तारा एयरको जहाजले सफल परीक्षण उडान गरेसँगै गुल्मेलीमा नयाँ आशा पलाएको छ ।

सदरमुकाम तम्घास नजिकै सिमिचौरमा रहेको विमानस्थलबाट जहाजको परीक्षण उडान सफल भएपछि अब नियमित विमान आउजाउ हुने र आर्थिक विकास हुने गुल्मेलीको विश्वास छ ।

गुल्मीको रेसुङ्गा विमानस्थलमा निर्माण सुरु भएको १६ वर्षपछि भएपनि जहाजको सफल परीक्षण उडानले गुल्मेलीमा खुसीको सञ्चार भएको छ । वि।सं। २०६३ मा तत्कालीन पर्यटन मन्त्री नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले शिलान्यास गर्नुभएको थियो ।

सुरुको झण्डै ८ वर्षसम्म विमानस्थल निर्माणले गति लिन नसक्दा गुल्मेली निरुत्साहित थिए । त्यसपछि २०७१ बाट विमानस्थल निर्माणले गति लियो । २०७५ जेठ २५ गते तारा एयरको जहाज धुले उडान सफल भएसँगै पुनः आशा जगाएको थियो । त्यसपछि तिव्र रुपमा निर्माण भएको विमानस्थलको बैशाखमा काम सम्पन्न भयो ।

काम सम्पन्न भएपनि रेसुङ्गा विमानस्थलबाट नियमित उडानमा आशंका गरेका स्थानीयले अहिले सफल उडान गरेपछि उत्साहित बनेका छन् । अबको दुई हप्तापछि रेसुङ्गा नगरपालिकाको सहयोगमा तारा एयरले नियमित उडान गर्ने तयारी गरको छ । सहज यात्रा र आर्थिक विकासमा टेवा पुग्ने नगरवासीको विश्वास छ ।

परीक्षणका क्रममा तारा एयरको १८ यात्रु क्षमताको जहाज नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी र गुल्मीका केही नेता विमानस्थलमा अवतरण गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रेसुङ्गा विमानस्थलमा जहाज ४७ मिनेटमा अवतरण भएको थियो । दिउँसो र साँझपखको समयमा हावाको नकारात्मक प्रभावले जहाज अवतरणमा समस्या हुन सक्ने देखिएको छ ।

विमानस्थलको धावनमार्ग ५ सय २० मिटर लम्बाई र २० मिटर चौडाई छ । कुल १ सय ५६ रोपनी जग्गामा फैलिएको विमानस्थलमा कुल ३५ करोड खर्च भएको छ । विमानस्थलबाट मुआब्जा दिएर १४ घर र २८ घरपरिवारको जग्गा अतिक्रमण गरिएको थियो । नगरपालिकाले तारा एयरसँग सम्झौता दुई हप्ता पछि नियमित उडान गर्ने तयारी गरेको छ ।

विमानस्थल सञ्चालनमा आउन थालेसँगै अर्घाखाँची, प्यूठान, बाग्लुङ्ग र पाल्पाका यात्रुलाई समेत टेवा पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *