खेलकूद

नेपाल टी-ट्वेन्टी लिग : पारिश्रमिक नपाएको भन्दै खेलाडीहरुले नखेल्ने निर्णय गरेपछि… (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष १९ गते २१:२०
नेपाल टी-ट्वेन्टी लिग : पारिश्रमिक नपाएको भन्दै खेलाडीहरुले नखेल्ने निर्णय गरेपछि… (भिडियो रिपोर्टसहित)

१९ पुस २०७९ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भइरहेको फ्रेन्चाईज प्रतियोगिता नेपाल ट्वेन्टी–ट्वेन्टी लिगमा अन्य दिन भन्दा आज फरक द्दश्य देखियो ।

प्रतियोगिताको पहिलो खेल बिहान साढे ८ बजे हुनुपर्ने हो । तर पहिलो खेलका लागि त्रिवि क्रिकेट मैदान पुगेका काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल ढिला गरी सुरु भयो । खेलाडीहरुले पारिश्रमिक नपाएपछि नखेल्ने निर्णय गर्दै टस गर्न नमानेपछि खेल समयमा हुन सकेन् ।

सुरुवातदेखि विवादित र शंकाको घेरामा परेको नेपाल ट्वेन्टी–ट्वेन्टी लिगमा मंगलबार काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीच प्रतिस्पर्धा हुनुपर्ने थियो । दुवै टोलीका खेलाडी मैदान पुगे पनि टस गर्न नमान्दा खेल समयमा हुन सकेन । खेलाडीले म्याच फी नपाएको भन्दै नखेल्ने निर्णय गरे ।

सम्झौता अनुसार खेल सुरु हुनुअघि खेलाडीले तोकिएको मध्ये ४० प्रतिशत रकम पाउनुपर्ने र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पाउने सहमति थियो । तर प्रतियोगिता सकिने बेलासम्म पनि खेलाडीले कुनै रकम नपाएपछि खेलनै बहिस्कार गरे । त्यसपछि खेलाडी, आयोजक, संघका पदाधिकारी र प्रतियोगिता निर्देशक लगायतको उपस्थितिमा छलफलपछि खेल सुरु गर्न खेलाडी तयार भए ।

प्रतियोगितामा सहभागी अर्को टोली पोखरा एभेन्जर्सले भने आफ्ना खेलाडीलाई दुई किस्तामा गरी ५० प्रतिशत रकम दिइसकेको छ । तर अन्य टोलीमा पनि पारिश्रमिकको विषयमा समस्या छ । यो विषयमा कुरा गर्न खोज्दा टिम मालिकहरु पनि सम्पर्कमा छैनन् । व्यवस्थापनमा कमजोरी भएको क्यानले स्वीकारेको छ ।

प्रतियोगितामा क्यान र सहभागी टोलीको व्यवस्थापनमा असन्तुसष्ट जनाउँदै केहि विदेशी खेलाडीहरु यसअघिनै प्रतियोगिता बिचमै छोडेर फर्किसकेका छन् । विराटनगरबाट खेलेका जिम्बावेका खेलाडी सिकन्दर राजा जनवरी ५ सम्मका लागि आएको भएपनि पुरा समय नबसी केहि दिन अघिकै फर्किए ।

पारिश्रमिकका लागि ताकेता गरेपनि नपाएपछि उनी खाली हात फर्किएको टोली भित्रकै सदस्यको भनाई छ । जनकपुर रोयल्सका प्रशिक्षक उमेश पटवाल र खेलाडी केज्रिक विलियम्स पनि पारिवारिक कारण देखाउँदै आफ्नै देश फर्किसकेका छन् ।

त्यस्तै, लुम्बिनी अल स्टार्सबाट ४ खेल खेल्न नेपाल आएका भारतीय खेलाडी उन्मुक्त चन्द पनि ३ खेल खेलेर फर्किए । खेलिरहेका खेलाडीले पारिश्रमिक पाउन विरोध गरिरहँदा विदेशी खेलाडी पनि बिचमै प्रतियोगिता छाडेर फर्किनुको पछाडि पारिश्रमिककै विवाद त होइन् भन्ने प्रश्न उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्