विद्यार्थीको पीडा, चिसो भुईंमा कसरी पढ्ने ? (भिडियो रिपोर्टसहित)

२०७९ पुष १८ गते २१:२८
विद्यार्थीको पीडा, चिसो भुईंमा कसरी पढ्ने ? (भिडियो रिपोर्टसहित)

१८ पुस २०७९ सर्लाही । विद्यालयको शैक्षिक गुणस्तर र स्वच्छ शैक्षिक वातावरणमा भौतिक पक्षको नङ र मासुको जस्तै सम्बन्ध हुन्छ ।

राष्ट्रको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि हरेक विद्यालयको भौतिक पक्षको गुणस्तर राम्रो हुन अति आवश्यक छ । तर, सर्लाहीको विष्णु गाउँपालिकामा रहेको श्री माध्यमिक विद्यालयका विद्यार्थी चिसो भुइँमा अध्ययन गरिरहेका छन् ।

यो, सर्लाहीको विष्णु गाउँपालिका–३, मधुवनगोठमा रहेको श्री माध्यमिक विद्यालय । विद्यार्थी कति दयनीय अवस्थामा अध्ययन गरिरहेका छन् भन्ने पुष्टि गर्न यो दृश्य काफी छ । यो हिउँदमा पनि बालबालिका सिमेन्टको भुइँमा पढ्न बाध्य छन् । शौचालय त अझ प्रयोग गर्न लायक पनि छैन ।

विद्यालयको अवस्था कन्तविजोग छ । केही समय अघि विद्यालयको भवन निर्माण सुरु भएपनि सकिएको छैन । झ्यालमा ग्रिल लगाइएको छैन । बाहिरबाट मानिस पसेर कक्षा कोठाका डेस्क र बेन्च भाँच्ने गरेका छन् । कालोपाटी तोडफोड हुने गरेको छ । डेक्स बेन्च समेतको व्यवस्थापन गर्न नसक्दा भुँइमा पढाउनुपरेको बाध्यता शिक्षक नै सुनाउँछन् ।

विद्यालय छेउमा माछा र कुखुरा बजार छ । बजारमा पशुपंक्षी जन्य फोहरको दुर्गन्धले कक्षा कोठामा बसिनसक्नुको हुन्छ । विद्यालयलाई कतिपयले त विवाहभोजको थलो बनाउने गरेका छन् । समाजका विद्वान भनेर चिनिएकाले नै जन्ती विद्यालयमा राख्न समते दबाब दिने गरेका छन् । प्रधानाध्यापक निरीह बन्ने गरेका छन् । स्थानीय सरकार मौन छ ।

तराईका विभिन्न जिल्लामा यस किसिमका विद्यालयको संख्या धेरै छ । यस्तै किसिमका विद्यालयमा अध्ययन गरेका बालबालिकाबाट कस्तो भविष्यको अपेक्षा गर्ने रु उनीहरूको भविष्यलाई नै अन्धकार बनाउने यो हदसम्मको हर्कत हुँदा तीनै तहको सरकारलाई गिज्याइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *