सडक दुर्घटनामा मृत्युवरण गर्दै वन्यजन्तु, एक वर्षमा १३ मारिए (भिडियो रिपोर्टसहित)

२०७९ पुष ६ गते १८:०७
सडक दुर्घटनामा मृत्युवरण गर्दै वन्यजन्तु, एक वर्षमा १३ मारिए (भिडियो रिपोर्टसहित)

६ पुस २०७९ पर्सा । पर्सा राष्ट्रिय निकुञ्जमा वर्षेनि ठूलो संख्यामा वन्यजन्तु सडक दुर्घटनामा परी मर्ने गरेका छन् ।

निकुञ्जको आधाभार कार्यालयको तथ्यांक अनुसार निकुञ्ज भएर पछिल्लो आर्थिक वर्षमा १३ वन्यजन्तुको मृत्यु भएको छ । पछिल्ला ६ वर्षमा त १ सय ४४ वन्यजन्तुको दुर्घटनामा परेर मृत्यु भएको तथ्यांकले देखाएको छ ।

पर्सा निकुञ्ज आसपासको राजमार्ग वन्यजन्तुका लागि मृत्युको कारक बनिरहेको छ । वन्यजन्तु ओहोरदोहोर हुने हुँदा निकुञ्जका राजमार्गमा विस्तारै सवारी गुडाउन ठूला पोस्टर टाँसिएका हुन्छन् । तर, सूचनाको बेवास्ता गर्दै तीव्र सवारी कुदाउँदा वर्षेनी वन्यजन्तुको मृत्यु हुने क्रम बढेको छ ।

आर्थिक वर्ष अनुसार दुर्घटनाबाट मृत्यु भएका वन्यजन्तुको विवरण
आर्थिक वर्ष २०७३–७४ : २४
आर्थिक वर्ष २०७४–७५ : ३५
आर्थिक वर्ष २०७५–७६ : ४२
आर्थिक वर्ष २०७६–७७ : २२
आर्थिक वर्ष २०७७–७८ : ८
आर्थिक वर्ष २०७८–७९ : १३

निकुञ्जको आधाभार कार्यालयको तथ्यांक अनुसार अहिलेसम्म १ सय ४४ वन्यजन्तुको मृत्यु भएको छ । विशेषगरी त्रिभुवन राजपथको पथलैयादेखि अमलेखगन्ज सडक खण्ड, महेन्द्र राजमार्गको पथलैयादेखि निजगढ सडक खण्ड र महेन्द्र राजमार्गकै हेटौंडा–लोथर सडक खण्डमा बढी मृत्यु हुने गरेको पाइएको छ ।

तथ्यांक अनुसार दुर्घटनामा परी मर्ने वन्यजन्तुमा बढी चित्तल, बँदेल, बाँदर, जरायो छन् । राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ ले २६ स्तनधारी, ९ चरा र ३ सरिसृपलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । सवारी दुर्घटनामा परी कुनै पनि वन्यजन्तुको मृत्यु भएमा चोरी सिकारी सरह नै थुनामा राखेर कानुनी प्रक्रिया अघि बढाउने गरिएको छ ।

सडक दुर्घटना र प्राकृतिक कारणबाट धेरै वन्यजन्तुको मृत्यु भएको भन्दै विभागले वन्यजन्तुको मृत्युदर कम गर्ने योजनाका साथ कार्यक्रम तयार गरेको छ । प्राकृतिक कारण भएको वन्यजन्तुको मृत्युदर कम गराउनका लागि वन्यजन्तु अस्पताल निर्माणको काम थालनी गरिरहेको छ । वन्यजन्तु एम्बुलेन्स ल्याउने तयारी पनि भइरहेको छ ।

वन्यजन्तुलाई सडक दुर्घटनाबाट जोगाउन ठूला बाटो, नहरजस्ता परियोजना बनाउँदा वन्यजन्तु आवतजावत गर्नका लागि अन्डर पास र ओभर पासको व्यवस्था गर्ने योजना भएपनि पूरा भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *