धान बिक्रीका लागि कतै किसानको भीड, कतै सुनसान (भिडियो रिपोर्टसहित)

२०७९ पुष ४ गते १७:२०
धान बिक्रीका लागि कतै किसानको भीड, कतै सुनसान (भिडियो रिपोर्टसहित)

४ पुस २०७९ कैलाली । सरकारले ढिलो गरी धानको न्यूनतम समर्थन मूल्य तोकेपछि कैलालीका केही धान खरिद डिपोमा किसानको भीड लागेको छ । रातभर जाग्राम बसेर भए पनि धान बेच्न खोजिरहेका छन् ।

बिहानदेखि बेलुकासम्म धान बेच्नेको लाइनले डिपो निकै ब्यस्त हुने गरेको छ । तर, जिल्लाका केही डिपो भने सुनसान छ । व्यापारीलाई सस्तोमा धान बेचेकाले अहिले डिपोमा न किसान भेटिन्छन् न धान नै ।

सधैझैँ ढिलो गरी धानको न्युनतम समर्थन मूल्य तोक्ने सरकारले २०७७ सालमा मात्रै समयमै समर्थन मूल्य तोकेको थियो । त्यो बेला खाद्य, व्यवस्था तथा व्यापार कम्पनीको धनगढीस्थित मोहनपुर खरिद डिपोमा धान विक्री गर्न आउने किसानको भिड थियो ।

तर यस वर्ष ढिलो गरी धानको न्युनतम समर्थन मूल्य तोकिएपछि यो डिपो सुनसान छ । धान विक्री गर्न किसानको लाइन हुनुपर्नेमा यस वर्ष केही संख्यामा मात्रै धान विक्री गर्न किसान पुगेका छन् । न्युनतम समर्थन मूल्य समयमै नतोकिँदा किसानले व्यापारीलाई स्तो मूल्यमा धान बेचिसकेका छन् ।

असोज अन्तिमतिर धान भित्र्याएका किसान दुई महिनापछि सरकारबाट न्युनतम समर्थन मूल्य पाउँदा दुःखी छन् । धान भित्र्याएसंगै गहुँ, लाही लगायत तरकारी लाउनुपर्ने बेलामा सरकारबाट धान खरिद नै नभएपछि कतिपय किसानले प्रति क्विन्टल ७ सय रुपयाँ सस्तोमा धान विक्री गरेका छन् ।

मंसिर २६ गते देखि खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले डिपोबाट धान खरिद गरिरहेको छ । टीकापुर, सत्ती र मोहनपुर गोदामबाट धान खरिद गरिरहेको कम्पनीको सुदूरपश्चिम कार्यालयले ४० हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएको छ । कार्यालयले धान खरिद सुरु गरेदेखि दुई गतेसम्म २ हजार क्विन्टल मात्रै धान खरिद भएको छ ।

कैलालीमा डिपोसम्म आइपुगेका किसानको धान गुणस्तरमाथि प्रश्न उठाउँदै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान किन्न आनाकानी गरिरहेको निरन्तर गुनासो भने आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *