उद्योगको प्रस्ताव मान्दा खेतमै सुक्यो उखु, किसान आन्दोलित (भिडियो रिपोर्टसहित)

२०७९ पुष २ गते १६:२३
उद्योगको प्रस्ताव मान्दा खेतमै सुक्यो उखु, किसान आन्दोलित (भिडियो रिपोर्टसहित)

२ पुस २०७९ बारा । पुस दोस्रो हप्ताबाट क्रसिङ सुरु गर्ने तयारीसहित तराई–मधेसमा उद्योगले उखु संकलन सुरु गर्ने तयारी गरेको छ । ३५ देखि ४० लाख क्विन्टल हाराहारीमा उखु क्रसिङ गर्ने लक्ष्य लिएको भए पनि किसानको खेतमा भने उखु सुकेको छ ।

उखु काट्ने चटारो भइरहँदा चिनी उद्योगकै सिफारिसमा लगाएको बिउ नै गलत परेपछि बाराका सयौँ किसानको उखु खेतमै सुक्न थालेको छ ।

तराई–मधेसका उखु किसानलाई उखु काट्न चटारो छ । तर, अधिकांश किसानको खेतमा उखु सुकेको छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २४ घाटश्रीपुरका महेन्द्र अधिकारीले ८ कठ्ठा जमिनमा वार्षिक १ लाख रुपैंया तिर्नेगरी उखु लगाउनुभएको थियो । तर, उखु काटेर विक्री गर्ने बेलामा खेतमै उखु सुके ।

उहाँले प्रति क्विण्टल ६ सय ८० रुपैंयामा स्थानीय रिलायन्स सुगर मिल्ससँग ०२३८ जातको बिउ खरिद गर्नुभएको थियो । तर, कमजोर बिउले सिंगो बाली नै सखाप बनाइदियो ।

अरु विभिन्न जातका विउ विस्थापन गर्दै मिलले जबरजस्ती ०२३८ जातको बीउ भिडाएको अर्का किसान आश महमद देवानको गुनासो छ । बिउ नै गलत दिएको भन्दै किसान आन्दोलित छन् ।

चिनी मिल सञ्चालन गर्ने समय पुग्नै लाग्दा किसानका हजारौँ बिघा उखु बाली खेतमै सुकेपछि किसान चिन्तामा परेका छन् । त्यसमाथि सरकारले उखुको विक्री मुल्य पनि तोक्न सकिरहेको छैन ।

किसान प्रतिनिधिहरुले पछिल्लो केही वर्षमा बढेको चिनीको मूल्यका आधारमा उखुको मूल्य तोक्नु पर्ने माग गरिरहे पनि माग सुनुवाइ भएको पाइँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *