राउटेको अस्तित्व संकटमा (भिडियो रिपोर्टसहित)

२०७९ मंसिर २८ गते १७:४५
राउटेको अस्तित्व संकटमा (भिडियो रिपोर्टसहित)

२८ मंसिर २०७९ दैलेख । जंगलका राजा भन्न रुचाउने राउटे नेपालको लोपुन्मुख समूदाय हो । अहिलेसम्म जंगली युगमै रहेको मानिने राउटे समुदायको संख्या दिनप्रतिदिन घट्दो क्रममा छ ।

पछिल्लो समय राउटेका युवा युवतीले विवाहका लागि जोडी पाउन नसकेपछि उनीहरुको अस्तित्व संकटमा छ ।

राउटे समूदायका युवा जंगबहादुर शाहीको उमेर ४० वर्ष कटिसक्यो । तर, उहाँले विवाह गर्न पाउनुभएको छैन । किशोरावस्थामै विवाह हुने राउटे समुदायमा अहिले अविवाहित युवा युवतीको संख्या बढ्दो छ । यही समूदायका सम्झना शाही र गाजली शाहीको पनि विवाह गर्ने उमेर कटिसक्यो ।

दैलेखको नारायण नगरपालिका–८ लोहोरे खोलाको तीरमा बस्दै आएका राउटे समूदायमा तीनवटा गोत्र छन् । सबैभन्दा धेरै संख्या रहेको कलेल गोत्रमा ४७ पुरुष र ३६ महिला गरी ८३ जना छन् भने सुवंशी गोत्रमा जम्मा आठ महिला र १२ पुरुष गरी २० जना छन् ।

यस्तै रास्कोटी गोत्रमा २० महिला र १९ पुरुष गरी ३९ जना छन् । विवाहका लागि फरक गोत्र हुनुपर्ने भएकाले किशोरावस्थामै विवाह गर्दै आएका राउटे युवावस्था काटिसक्दा समेत अविवाहित छन् ।

२०६८ को राष्ट्रिय जनगणना अनुसार राउटेको संख्या ६ सय १८ थियो । अहिले यो संख्या घटेर एक सय ४३ मा झरेको छ । जंगली युगमै रमाइरहेको राउटे समूदाय शिक्षा, स्वास्थ्य सुविधा लिन नमान्ने भएकाले पनि वर्षेनी उनीहरुको संख्या घटिरहेको छ ।

जन्मदै अस्वस्थ बच्चा जन्मिने, कुपोषण, स्वास्थ्य उपचार गर्न मन नपराउने, अत्याधीक मदिरा सेवन गर्ने जस्ता कारणले राउटेको संख्या एक दशकमा साढे चार गुणाले झरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *