कञ्चनपुरका किसानलाई प्रकृतिले यो वर्ष पनि यसरी ठग्यो (भिडियो रिपोर्टसहित)

२०७९ असोज २८ गते १६:१८
कञ्चनपुरका किसानलाई प्रकृतिले यो वर्ष पनि यसरी ठग्यो (भिडियो रिपोर्टसहित)

२८ असोज २०७९ कञ्चनपुर । असोजमा लहलह झुलेका धानका बाला काट्ने योजना बनाइरहेको कञ्चनपुरवासीलाई यो पटक पनि प्रकृतिले ठग्यो ।

असारमा गरेको मिहिनेतले कात्तिकमा रंग ल्याउने अपेक्षा गरेका कञ्चनपुरवासीको धान अविरल वर्षाले क्षति गरेपछि अहिले किसान मर्कामा परेका छन् ।

गत वर्ष दसैँ सकिए लगत्तै अविरल वर्षाका कारण देशका धेरै भूभागमा धानबाली नष्ट भयो । यो पटक त दसैँमै निरन्तर वर्षाले धेरैको खुसी हरेको छ ।

असारमा लगाएको धानका बाला मंसिरमा काट्ने योजना बुनेका किसानको धान खेतमै अहिले डुबेर कुहिन थालेको छ । धान भित्र्याउने चटारो हुनुपर्ने समयमा किसानलाई खेतमा ढलेका धानका बाला हेर्नुपरेको छ । कहिले रोग त कहिले अविरल वर्षाका कारण किसान मारमा पर्ने गरेका छन् ।

यो वर्ष वर्षाका कारण जिल्लाको बेलौरी, बेलडाँडी, पुनर्वास, दोधाराचाँदनी, लालझाडी गाउँपालिका, भीमदत्त नगरपालिकामा डुबानले धान बालीमा बढी क्षति भएको छ । पाकेको धान खेतमै ढलेर कुहिने र उम्रिने अवस्था आएको छ ।

हालसम्म जिल्लाभरिमा छोटो अवधिमा पाक्ने ५÷७ प्रतिशत मात्रै धान बाली भित्र्याइएको छ । कञ्चनपुरमा ४८ हजार हेक्टरमा धान खेती हुने गरेको छ । धानको उत्पादकत्व प्रतिहेक्टर ४ मेट्रिक टन छ । गत वर्ष झैं यस पटक पनि धान उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ ।

गत वर्ष धानको उत्पादकत्व २।५ मेट्रिक टन प्रति हेक्टर थियो । कृषि ज्ञान केन्द्रका अनुसार धान उत्पादनका लागि अब्बल मानिएको दक्षिणी क्षेत्रमा बढी क्षति भएको छ । धान उत्पादनका लागि जिल्लाकै आधाभन्दा बढी भाग ओगटेको यो क्षेत्रमा कटान र डुबान पनि बढी हुने गरेको छ ।

वर्षेनी वर्षा र डुबानले खेती नोक्सान भएपछि अन्नभण्डार मानिएको क्षेत्रमा उत्पादन घट्दै गइरहेको छ । त्यति मात्रै होइन किसानी गरेर जीविकोपार्जन गर्ने किसानलाई जीविकोपार्जनमै समस्या समेत निम्तिरिहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *