बसपार्क सञ्चालनमा नआउँदा सडकमा बस पार्किङ गर्न बाध्य (भिडियो रिपोर्टसहित)

२०७९ असोज २ गते १६:३०
बसपार्क सञ्चालनमा नआउँदा सडकमा बस पार्किङ गर्न बाध्य (भिडियो रिपोर्टसहित)

२ असोज २०७९ पाँचथर । पाँचथर सदरमुकाम फिदिममा दुई दशकपछि बसपार्क बन्यो । करिव दुई करोड लागतमा निर्माण सम्पन्न भएको बसपार्क अझै सञ्चालनमा छैन । बसपार्क बजारबाट करिव दुई किलोमिटरको दूरीमा रहेपनि मुख्य सडकमै बस पार्किङ हुने गरेको छ ।

पाँचथरको फिदिम नगरपालिका–२ मा निर्माण भएको बसपार्क सञ्चालन नहुँदा राजमार्गमै सवारी साधन अव्यस्थित तरिकाले पार्किङ भइरहेको छ । भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसके पनि सञ्चालन नहुँदा लामो तथा छोटो दूरीमा चल्ने सवारी मुख्य सडकमै पार्किङ हुने गरेका छन् ।

फिदिम बजारमा यातायात व्यवसायी मुख्य सडक, ग्यारेज र आफन्तको घरमा सवारी राख्ने गर्छन । धेरैजसोले सडक छेउमै पार्किङ गर्ने गरेका छन । यथेष्ट ठाउँसहितको बसपार्क हुँदाहुँदै राजमार्ग दायाँबायाँ जथाभावी पार्किङ गर्न थालेपछि फिदिम बजार अस्तव्यस्त हुँदै गएको छ ।

नागरिकले बसपार्क प्रयोजनका लागि करिब साढे सात रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । निःशुल्क जग्गा दिएर बसपार्क सञ्चालन हुने आशमा बसेकाहरू अहिले निरास छन् ।

बसपार्कको दुई पटक उद्घाटन भएपनि गाडी पार्किङ हुने गरेको छैन । बजार क्षेत्रको गाडी व्यवस्थापन अस्तव्यस्त भइरहेका बेला बसपार्क सञ्चालनमा ध्यान दिइएको छैन । बसपार्क सञ्चालनमा आउने भनेर आसपासमा ठुला घर, होटल समेत बनेका छन् । त्यतिमात्र होइन, मेची राजमार्ग, मध्यपहाडी लोकमार्ग जोड्ने सडक पनि बनिसकेको छ ।

कहिले यातायात व्यवसायीको कारण त कहिले कुन बहानामा बसपार्क सञ्चालन गर्न स्थानीय सरकार गम्भीर नभएपछि टिकट काउन्टरसहित बसपार्कमा आधारभूत संरचना प्रयोगमा नआई जीर्ण बन्ने सम्भावना छ । तर, जनप्रतिनिधि भने सञ्चालन गर्न पटकपटक बसपार्क सञ्चालन गर्न ध्यानाकर्षण गराएको बताउँदै आएका छन् ।

सुरक्षाका लागि अस्थायी प्रहरी बिट नै स्थापना गरिए पनि यातायात व्यवसायी र स्थानीय सरकार बसपार्क सञ्चालनमा गम्भीर नबन्दा करोड माथिको लगानी खेर गइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *