खोटाङका सामुदायिक विद्यालयमा विद्यार्थी पाउनै मुस्किल (भिडियो रिपोर्टसहित)

२०७९ भदौ ३१ गते १८:३०
खोटाङका सामुदायिक विद्यालयमा विद्यार्थी पाउनै मुस्किल (भिडियो रिपोर्टसहित)

३१ भदौ २०७९ खोटाङ । सामुदायिक विद्यालयमा सरकारले बर्सेनि लगानी बढाउँदै लगेको भए पनि अभिभावकको आकर्षण निजी विद्यालयप्रति बढ्दै गइरहेको छ । यो आकर्षणका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटेको मात्रै छैन विद्यार्थी पाउनै मुस्किल हुने गरेको छ ।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ५ सप्तेश्वर छितापोखरीको पञ्चमीस्थित रोशाभञ्ज्याङ प्राविको कक्षा–५ मा तीन विद्यार्थी छन् । कक्षा ४ मा पाँच, कक्षा १, २ र ३ मा ११–११ जना विद्यार्थी छन् । बाल विकास केन्द्रमा १० जना विद्यार्थी मात्रै भर्ना भएका छन् ।

पञ्चमीबजार नजिकै भएकाले कुनै समय रोशाभञ्ज्याङमा पर्याप्त विद्यार्थी थिए । तर‚ व्यवस्थापन फितलो हुँदा कतिपय विद्यार्थी अन्य विद्यालय गए । वि. सं. २०४५ सालमा स्थापना भएको विद्यालयमा केही समयअघि जर्ण चाम्लिङ प्रधानाध्यापक भएर आएपछि बल्ल शैक्षिक सुधार हुन थालेको छ ।

यता, दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीको जंगदेव प्राविमा पनि विद्यार्थी संख्या अत्यन्तै कम छ । दिप्रुङमा चार महिनामा एउटा वडाबाट १० घरका दरले बसाइँ सरेर सुविधासम्पन्न ठाउँमा गएका छन् । यसले पनि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेको छ ।

कमजोर विद्यालय प्रशासन, प्रभावकारी पठनपाठनको अभाव, बसाइँसराई, न्यून जन्मदर लगायतका कारण विद्यार्थी संख्या घटेको गाउँपालिकाले जनाएको छ ।

निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयले गुणस्तर कायम गर्न नसक्दा हरेक वर्ष विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । पहिले सामुदायिक विद्यालयको स्वीकृति दिँदा कुनै सर्वेक्षण नगर्दाको परिणाम अहिले सार्वजनिक विद्यालयले भोगिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *