सुर्खेत विमानस्थलका लागि वैकल्पिक स्थानको खोजी (भिडियो रिपोर्टसहित)

२०७९ भदौ १५ गते २१:३३
सुर्खेत विमानस्थलका लागि वैकल्पिक स्थानको खोजी (भिडियो रिपोर्टसहित)

१५ भदौ २०७९ सर्खेत । धावनमार्ग फराकिलो बनाउन नमिल्ने भएपछि सुर्खेत विमानस्थलको वैकल्पिक स्थान खोज्न थालिएको छ । हालको विमानस्थललाई विस्तार गर्दा व्यक्तिगत जग्गा, सरकारी संरचना र विद्यालयका संरचनामा समस्या आउने भएका कारण नयाँ ठाउँको खोजी गरिएको हो ।

सुर्खेत विमानस्थलमा ठूला जहाज अवतरण हुन नसक्दा कर्णालीका नागरिक विमानको सुविधा लिन लुम्बिनी प्रदेशको नेपालगञ्ज धाउनु पर्ने बाध्यता छ ।

साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्र तोकिएसँगै सुर्खेतमा विमानस्थल विस्तारको कामलाई प्राथमिकता दिइएन । तर, अहिले विमानस्थलको उत्तर–दक्षिण मोहडातर्फ विस्तार गर्दा मुआब्जा लगायतका समस्या देखिएपछि वैकल्पिक ठाउँको खोजी गर्न कर्णाली प्रदेश सरकारले चासो देखाएको छ ।

वैकल्पिक विमानस्थलका लागि हालसम्म भेरीगंगा नगरपालिकाको छिन्चुस्थित मदानेचौर र भेरी नदी पुलनजिकैको वीरेन्द्रनगरको लाटीकोइलीस्थित नेपाल ट्रस्टका नाममा रहेको ३४ बिघा जग्गा सम्भावित स्थलको रूपमा चर्चामा छ ।

हाल सञ्चालनमा आएको विमानस्थलको रनवे १२ सय मिटर मात्रै छ । विमानस्थलमा तीन सय ५५ मिटर रनवे थप्न मुआब्जा र जग्गा सम्याउन आठ अर्ब ४१ करोड रुपैयाँको प्रस्ताव गरी केही बजेट समेत संघीय सरकारले पठाएको थियो ।

विमानस्थल विस्तारका लागि गठिन उच्चस्तरीय प्राविधिक टोलीले हाल रहेको धानवमार्गलाई उत्तरतर्फ पाँच सय १० मिटर, दक्षिणतर्फ ६० मिटर र पश्चिमतर्फ ६६ मिटर विस्तारको सुझाव दिएको थियो । तर, सुझाव कार्यान्वयनमा आएको छैन । अहिले ४२ सिटेभन्दा ठूला जहाज सुर्खेत विमानस्थलमा अवतरण हुन सकेका छैनन् ।

अधिकांश नागरिक सुर्खेतको हवाई भाडा महङ्गो भएका कारण नेपालगञ्जबाट उडान भर्ने गर्दछन् । सुर्खेतमा ठूला जहाज अवतरण उद्देश्यका साथ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चर्चा लामो समयदेखि चल्दै आएको छ ।

चालु आर्थिक वर्षमा विमानस्थल स्तरोन्नतिका लागि प्रदेश र संघीय सरकारले ५०–५० करोड गरी एक अर्ब रुपैयाँ विनियोजन गरेका छन् । २०७३ मा सम्भाव्यता अध्ययन टोलीले पनि रामघाटमा अन्तर्राष्ट्रिय विमानस्थलका लागि उत्तम रहेको निष्कर्ष निकालेको थियो । तर, काम अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *