दिदी चालक बहिनी सहचालक, मस्त यातायात व्यवसाय (भिडियो रिपोर्टसहित)

२०७९ भदौ ५ गते १६:४०
दिदी चालक बहिनी सहचालक, मस्त यातायात व्यवसाय (भिडियो रिपोर्टसहित)

५ भदौ २०७९ कपिलवस्तु । सार्वजनिक सवारी साधनमा प्रायः पुरुष नै चालक र सहचालक हुन्छन् । तर, पछिल्लो समय फाट्टफुट्ट महिला पनि यो काममा लाग्न थालेका छन् । कपिलवस्तुमा पनि दिदीबहिनीले बस चलाएर यात्रुलाई सेवा दिइरहेका छन् ।

स्टेरिङ घुमाउँदै गर्नुभएकी उहाँ, निमा मल्ल । र, यात्रुलाई बोलाइरहनुभएकी उहाँ, शान्ता मल्ल । यि दुई दिदीबहिनी सारू ट्राभल्स माइक्रोका चालक र सहचालक हुनुहुन्छ । ४१ वर्षीया निमा र ४२ वर्षीया शान्ता ८ वर्षदेखि सवारी चलाउँदै आएका छन् ।

हरेक दिन बुटवलको बसपार्क हुँदै, अस्पताल क्षेत्र र पुरानो बसपार्कमा यात्रु चढाउने र ओराल्नमा दुवै व्यस्त हुने गरेका छन् ।

कपिलवस्तु वाणगंगा नगरपालिका–८ घर भएका उहाँहरूको कामलाई लिएर यात्रु पनि अचम्मित हुने गरेका छन् । चालक र सहचालक पुरुष मात्रै देखेका धेरैका लागि यो दृष्य रोचक बन्ने गरेको छ ।

२०७२ सालमा विंगर किनेर शुरु गरेको यो पेसामा अहिले दुवै सन्तुष्ट छन् । निश्चित रूटमा अबेरसम्म सवारी चलाउँदा दिनमा तीन ट्रिपसम्म गर्दा खान र लाउनलाई कुनै समस्या छैन । गाडीको अन्य खर्च कटाएर दैनिक ४५ सय देखि ५ हजार रूपैयाँसम्म उहाँहरूको बचत हुने गरेको छ ।

कुनै पनि पेसालाई सानो र ठूलो नसोच्ने हो भने मिहनेत र परिश्रम गरेर पनि सन्तुष्ट बन्न सकिन्छ भन्ने उदाहरण निमा र शान्ताले प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *