खेलकूद

साफ यु–२० च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित

श्रीलंका ३–० गोल अन्तरले पराजित

२०७९ साउन ११ गते २१:२९
साफ यु–२० च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित

११ साउन २०७९ भुवनेश्वर, भारत । भारतमा जारी साफ यू–२० च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

भुवनेश्वरको कालिंगा रंगशालामा आज भएको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३–० गोलले हराएको हो । नेपालको जितमा आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले १–१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा नेपालको ३ गोल सम्भव भएको हो ।

खेलको १९ औं मिनेटमा अजय चौधरीले दिएको लामो पास डी बक्समा आयुष घलानले भेट्टाउन सकेनन् । २२ औं मिनेटमा श्रीलंकाले अग्रता लिने मौका गुमायो ।

लगत्तै काउण्टरमा श्रीलंकाका कैयुम मोहमदको प्रहार पहिलो बारमा लाग्दै बाहिरियो । २९ औं मिनेटमा नेपालको कर्नर बचाउने क्रममा डिफ्लेक्ट भएको बल अजयले गोल गरेपनि विपक्षी खेलाडीलाई फाउल गरेपछि रेफ्रीले गोलको मान्यता दिएनन् ।

३५ औं मिनेटमा मोहम्मेधु मुन्सिफले वान भर्सेस वानमा पाएको बल लङ रेन्जमा प्रहार गर्दै अग्रता लिने प्रयास गरेपनि बललाई पोष्टको दिशा दिलाउन सकेनन् । ४४ औं मिनेटमा सेटपिसमा अगाडी बढेको नेपालका लागि अजयले गरेको हेडर पोष्ट नजिकबाट बाहिरियो ।

दोस्रो हाफको सुरुवातमै नेपालले पाएको मौकामा आशिष राईको प्रहार पोष्ट नजिकबाट बाहिरियो । ५३ औं मिनेटमा पेनाल्टी बक्सबाट श्रीलंकाका मोहमद साहिलले गरेको हेडर क्रसबारमा लाग्दा अग्रता लिनबाट चुक्यो ।

खेलको ५८ औं मिनेटमा कप्तान आयुष घलानको गोलबाट नेपालले अग्रता लियो । मैदानको दायाँ भागबाट अभिशेक वाइबाले प्रहार गरेको बल श्रीलंकाली गोलरक्षकले पन्च गर्दा पाएको बललाई आयुषले हाफ भलिमा सहजै पोष्टको दिशा दिलाए ।

६४ औं मिनेटमा आयुष र कृतिश रत्न छुन्जुले शानदार तालमेल गर्दै नेपालको अग्रता दोब्बर बनायो । डिबक्सभित्रबाट आयुषले दिएको ब्याक पासमा बक्स बाहिरबाट कृतिशले गोल गरे । ६७ औं मिनेटमा नेपालले अग्रता फराकिलो पार्ने मौका गुमायो ।

८४ औं मिनेटमा फ्रिकिकमा पाएको बलमा डी बक्सभित्रबाट सुगम सुवालले असिस्ट गरेको बल अनमार्क रहेका मनज्य नकर्मीले सहजै गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाए । निर्धारित समयको अन्तिममा श्रीलंकाले खेलमा फर्कने कोशिस गरेपनि नेपालका गोल रक्षक ईश्वर गुरुङले बचाए ।

अतिरिक्त समयमा कर्नरमा गोलरक्षक बिट भइसकेको अवस्थामा नेपाली डिफेन्डरले गोल लाइनबाट बल क्लियर गरे । दोस्रो जितसँगै नेपाल ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । अब नेपालले तेस्रो खेलमा ३१ तारिखमा भारतको सामना गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्