बाँदरका कारण विस्थापित हुन लागेका किसान यस्ता खेतीमा आकर्षित (भिडियो रिपोर्टसहित)

३ साउन २०७९ भोजपुर । बारीमा लगाइएको बाली बाँदरले सखाप बनाएपछि भोजपुरका किसान निराश थिए । खेतीबाट लगानी पनि नउठ्ने भएपछि जमिन बाँझै छोड्न बाध्य किसान अहिले ड्रागन फ्रुट र कागती खेती गरिरहेका छन् । बाँदरले हानी नपुर्याउने भएकाले यस्ता बालीबाट किसान मनग्गे आम्दानी गर्न थालेका छन् ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेको सल्लेनीमा शम्भु नेपालको कृषि फार्म छ । वर्षौंदेखि बाँझो बसेको २४ रोपनी जग्गामा तीन वर्षअघि ड्रागन फ्रुट र कागती खेती गर्नुभएको छ ।
ड्रागन फ्रुटले रोपेको २ वर्षमै राम्रो आम्दानी दिन थालेको छ । बजारमा ड्रागन फ्रुटको माग उच्च छ । नेपालको ड्रागन फ्रुट र कागती खेतीमा स्थानीयले रोजगारी समेत पाएका छन् ।
सिँचाइ अभाव र बाँदरका कारण लगाइएको बाली भित्र्याउन नपाउँदा भोजपुरका धेरै गाउँ नै बसाईं सर्न बाध्य थिए । किसानले लगाएको बाली बाँदरले भित्राउन नदिएपछि खेतीयोग्य जमिन बाँझिँदै गएका थिए । तर, बाँझिएका जमिनमा बाँदरले नखाने खेती हुने भएपछि किसान उत्साहित बनेका छन् । उनीहरु ड्रागन फ्रुट, कागती, टिम्बुर र मेकाडियानटजस्ता फलफूल तथा नगदेवालीतर्फ आकर्षित छन् ।
अहिले युवाहरु जमिनको अवस्था हेरेर आफ्नै जमिनमा व्यवसायिक खेती गर्न सके वैदेशिक रोजगारीमा जानै नपर्ने रहेछ भन्न थालेका छन् । केही कृषकको प्रेरणादायी पौरख देखेर अहिले बसाईं सरेका समेत गाउँ फर्किन थालेका छन् । किसानको यो उत्साहमा सरकारले थोरै मात्र ऊर्जा थपिदिने हो भने त्यसबाट सबैले लाभ लिन सक्ने निश्चित छ ।
प्रतिक्रिया