खेलकूद

एन्फा र खेलाडी संघबीच टकराबः मुख्य प्रशिक्षक अल्मुताइरी आउलान् त नेपाल ? (भिडियो रिपोर्टसहित)

२०७९ साउन १ गते २०:३५
एन्फा र खेलाडी संघबीच टकराबः मुख्य प्रशिक्षक अल्मुताइरी आउलान् त नेपाल ? (भिडियो रिपोर्टसहित)

१ साउन २०७९ काठमाडौं । अखिल नेपाल फुटबल खेलाडी संघले बिहीबार विभिन्न ५ बुँदे मागसहित एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई ध्यानाकर्षण पत्र बुझायो ।

यसमा एक बुँदा थियो मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विकल्प । तर एन्फाको नयाँ कार्य समिति सुरुवातदेखिनै मुख्य प्रशिक्षकलाई निरन्तरता दिन सकारात्मक छ । खेलाडी संघको यो मागले एन्फालाई झस्काएको छ ।

अखिल नेपाल फुटबल खेलाडी संघले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई भेटेर ५ बुँदे माग राख्यो । वर्षैभरी खेलाडीलाई व्यस्त राख्ने गरि एन्फाले प्रतियोगिताको क्यालेन्डर बनाएर सार्वजनिक गर्नुपर्ने, घरेलु फुटबलको संरचनामा परिवर्तन गर्नुपर्ने, खेलाडीको स्वास्थ्य बीमा हुनुपर्ने संघको माग छ । त्यस्तै, खेलाडी र प्रशिक्षकबीचको विवादमा छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा प्रशिक्षकको विषयमा निर्णय हुनुपर्नेमा संघको जोड छ ।

राष्ट्रिय टोलीका १० खेलाडी र प्रशिक्षकबीचको विवाद छानबिनका लागि गठित समितिले एसियन कप छनोट प्रतियोगितापछि कतार फुटबल संघको सहयोगलाई निरन्तरता र सहमति कायम राख्दै मुख्य प्रशिक्षकको विकल्प खोज्न सिफारिस गरेको थियो ।

छानबिन समितिको सुझावका आधारमा प्रशिक्षकको विषयमा कार्य गर्नु भन्नुको मतलब प्रशिक्षकको विकल्पनै हो । असन्तुष्ट खेलाडीले यसअघि पनि पत्रकार सम्मेलन र अन्य समयमा पटक पटक मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको प्रशिक्षणमा खेल्न नसकिने बताइरहेका छन् ।

एन्फा भने उनै प्रशिक्षकलाई निरन्तरता दिन सकारात्मक छ । कतार फुटबल संघ, असन्तुष्ट खेलाडी र प्रशिक्षकबीचको त्रिपक्षीय छलफलपछि मात्र यो विषय टुङ्गिने एन्फाको तर्क छ । त्यसका लागि एन्फा मुख्य प्रशिक्षक अलमुताइरी नेपाल फर्किने प्रतिक्षामा छ ।

कतार फुटबल संघ र प्रशिक्षकसँग समन्वय गरि यो विषयमा निर्णय गर्ने भनिए पनि एन्फा अध्यक्ष नेम्वाङले विभिन्न औपचारिक कार्यक्रममै पुराना विवाद बिर्सिँदै प्रशिक्षकलाई निरन्तरता दिन तयार रहेको बताइरहेका छन् । सहयोगमा आएका प्रशिक्षकलाई सम्झौता अबधि बाँकी छँदै परिवर्तन गर्दा कतार फुटबल संघसँग सम्बन्ध बिग्रने डर पनि एन्फालाई छ ।

यसले एन्फा प्रशिक्षकको विषयमा केहि लचिलो देखिएको हो । प्रशिक्षक पनि पछिल्लो समय जिम्मेवारीलाई निरन्तरता दिने आशय व्यक्त गरिरहेका छन । तर खेलाडी संघको ध्यानाकर्षणपछि अब एन्फाले यो विषयमा कस्तो निर्णय गर्नेछ भन्ने कौतुहलता छ । यो विषयमा सोमबार बस्ने एन्फा केन्द्रिय समितिले निर्णय गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्