विदेश

गोली लागेर घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

हिमालय टिभी
२०७९ असार २४ गते १४:५७
गोली लागेर घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

२४ असार २०७९ टोक्यो । गोली लागेर गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको उपचारको क्रममा निधन भएको छ ।

जापानको पश्चिम क्षेत्रको नारामा एक कार्यक्रममा आबेमाथि दुई राउण्ड गोली प्रहार भएको थियो । भाषण गरिरहेका बेला गोली प्रहार भएपछि आबे मञ्चमै ढलेका थिए ।

६७ वर्षीय आबेको घाँटीको दाहिने भागमा र छातीको देब्रे भागबाट रगत बगेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । गोली प्रहार गर्ने ४१ वर्षका एकजना पुरूषलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको छ।

जापानको सबैभन्दा लामो समय प्रधानमन्त्री भएका आबेले सन् २००६ मा एक वर्ष र त्यसपछि सन् २०१२ देखि २०२० सम्म पदमा रहेका थिए । उनले सन् २०२० मा स्वास्थ्यको कारण देखाउँदै पद छाडेका थिए ।

उनी यही जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत नारा पुगेका थिए । आफ्ना दलका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो। पहिलो पटक प्रहार गरिएको गोली आबेलाई लागेको थिएन। तर दोस्रो गोली उनको गर्दनमा लाग्यो। जापानमा गोलीकाण्ड दुर्लभ मानिन्छ।

जापानमा सन् २०१४ मा देशभरि केवल छवटा साङ्घातिक गोली प्रहारका घटना भएका थिए। अमेरिकामा त्यो वर्ष ३३ हजार ५ सय ९९ जनाको गोलीकाण्डमा मृत्यु भएको थियो।

जापानमा बन्दुक किन्न चाहने व्यक्तिले कडा परीक्षा दिनुपर्छ। उनीहरूको मानसिक स्वास्थ परीक्षण पनि गरिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *