त्रिकोणात्मक क्रिकेटमा नेपाल र अमेरिकाबीचको खेल बराबरी

२९ जेठ २०७९ काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टु शृंखलामा नेपालले बराबरी खेलेको छ ।
आज बिहान सम्पन्न लिग टु को आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकासँग बराबरी खेलेको हो । २७५ रनको लक्ष्य पछ्याएको घरेलु टोली अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २७४ रन नै बनाएपछि खेल बराबरी भएको हो ।
अन्तिम ओभरमा नेपालले दुई विकेट लिएपछि हार नजिक पुगेको नेपालले खेल बराबरी गर्न सफल भयो । नेपालका अलराउन्डर मोहम्मद आदिल आलमले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि खेल रोमाञ्चक बराबरी भएको थियो ।
अमेरिकालाई अन्तिम ओभरमा जितका लागि ६ रन आवश्यक हुँदा आलमले पाँच रनमात्र दिए । अन्तिम ओभरमा अमेरिकालाई खेल जित्न एक रन चाहिएको बेला आलमको बलमा आरोन जोन्स क्याच आउट भए । त्यसपछि अन्तिम बलमा निसर्ग पटेल रनआउट हुन पुगे ।
अमेरिकाका ओपनर स्टेभेन टेलरले ११४ रनको शतकीय इनिंग्स खेल्दा कप्तान मोनांक पटेलले ८५ रन जोडे । नेपालका मोहम्मद आदिल आलमले तीन तथा कप्तान सन्दिप लामिछाने र सोमपाल कामीले एक(एक विकेट लिए ।
यसअघि टेक्ससस्थित मोसा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४ बल अगावै २७४ रनमा अलआउट भएको थियो । नेपालका लागि आशिफ शेख, रोहित पौडेल, देब खनालले अर्धशतक बनाए ।
नेपालले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेको थियो । ओपनर कुशल भुर्तेल १९ रनमा आउट भए । त्यसपछि रोहित ६२, आशिफ ६१ रन तथा खनाल ५४ रन जोड्दै पेभेलिएन फर्के ।
आजको खेलमा एक दिवसिय क्रिकेटमा डेब्यु गरेका मोहम्मद आदिल आलम ३६ रनमा आउट भए । अमेरिकाका रुष्टी थेरसनले दुई विकेट लिए । आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो ।
१३ अंक रहेको नेपाल १४ खेलबाट ६ मा जित, ७ मा हार र एक बराबरीसहित छैटौँ स्थानमा छ ।
प्रतिक्रिया