खेलकूद

महिला ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा नेपालको शानदार विजयी शुरुवात (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ २० गते १८:२५
महिला ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा नेपालको शानदार विजयी शुरुवात (भिडियो रिपोर्टसहित)

२० जेठ २०७० काठमाडौं । आईसीसी १९ वर्ष मुनिको महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप खेल्ने लक्ष्यका साथ मलेसिया गएको किशोरी टोलीले एसिया छनोटको पहिलो खेलमा शान्दार जित निकाल्यो ।

६ टोली सहभागी प्रतियोगिताको आफ्नो पहिलो खेलमा कतारमाथि ७९ रनको फराकिलो जित निकाल्दै नेपालले छनोटमा बलियो दावेदारी प्रस्तुत गरेको छ ।

मलेसियामा शुक्रबार शुरु भएको आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप अन्तर्गत एसिया छनोटमा कतारलाई ७९ रनले हराउँदै नेपालले शान्दार शुरुवात गर्‍यो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतार १५ ओभर ४ बलमा ३८ रनमै अलआउट भयो ।

कतारका ७ जना खेलाडीले खातासमेत खोल्न नसक्दा श्रृष्टी जैशीले ३ विकेट लिइन् । त्यस्तै अनु कडायत, कप्तान कृतिका मरासिनी र स्नेहा महराले समान २(२ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर ११७ रन बनाएको थियो । नेपालका लागि आश्मा पुलामी मगर ३२ तथा श्रृष्टी जैशी २३ रनमा अविजित रहिन् ।

पहिलो खेल जित्दै नेपालले छनोटको सम्भावना बलियो बनाएको छ । नेपालसहित, घरेलु टोली मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार गरी ६ टोली सहभागी प्रतियोगिताको शीर्षस्थानमा रहने टोली १९ वर्ष मुनिको ट्वेन्टी–ट्वेन्टी विश्वकपका लागि छनोट हुनेछ । यस्तोमा आफ्नो दोस्रो खेलमा नेपालले बलियो टोली युएईसँग खेल्नेछ ।

एसिया छनोटमा नेपाललाई बलियो दावेदारका रुपमा लिइएको छ । यसमा युएई र थाइल्याण्ड नेपालका लागि चुनौती बन्न सक्छन् । युएईले पहिलो खेलमा भुटानमाथि १६० रनको जित निकाल्दा थाइल्याण्डले मलेसियालाई ८५ रनले हराउँदै रनरेटमा बलियो स्थिति बनाइसकेका छन् ।

यसमा अधिकांश नयाँ खेलाडी समेटिएको नेपाली टोलीका लागि अबको सबै खेल असली परीक्षाका रुपमा रहनेछ । तर कृतिका मरासिनीको कप्तानीमा रहेको युवा टोली आत्मविश्वासी देखिएको छ ।

कम उमेरका कारण प्रतियोगिता गुमाएकी ज्योत्स्निका मरासिनीको अभाव भने टोलीमा खड्किन सक्छ । सिनियर प्रतियोगितामा राम्रो छाप छाडेकी ज्योत्स्निका धनगढीमा सम्पन्न १९ वर्ष मुनिको राष्ट्रिय प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी हुन् ।

त्यस्तै, स्पिनर हिरन्मई राय पनि टोलीमा छैनन् । तर घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका कृतिका, सृष्टि जैसी, सुस्मिता भुसाल र साना प्रविन जस्ता खेलाडी टोलीमा हुनु सुखद हो । प्रतियोगिताको उपाधि जितेमा नेपालले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने १९ वर्ष मुनिको महिला ट्वेन्टी-ट्वेन्टी विश्वकप खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्