खेलकूद

एक दिवसीयमा पनि खेलाडीहरु अभ्यस्त (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख २७ गते २१:३७
एक दिवसीयमा पनि खेलाडीहरु अभ्यस्त (भिडियो रिपोर्टसहित)

२७ वैशाख २०७९ काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टु अन्तर्गत आफ्नो चौंथो सिरिजको तयारीमा रहेको नेपालले टेष्ट राष्ट्र जिम्बावेको ए टोलीसँग ३ खेलको ट्वेन्टी–ट्वेन्टी र एक दिवसिय सिरिज खेल्यो ।

वर्षाले प्रभावित ट्वेन्टी–ट्वेन्टी सिरिज बराबरी हुँदा एक दिवसीय सिरिज भने नेपालले जित्न सफल भयो । लामो फरम्याटको क्रिकेटमा तुलनात्मक रुपमा कमजोर प्रदर्शन गरिरहेको नेपालको यो जितले एक दिवसीयमा पनि खेलाडीहरु अभ्यस्त भइरहेको देखाएको छ । यसले अर्को महिना अमेरिकामा हुने लिग टु सिरिजका लागि खेलाडीहरुले राम्रो एक्पोजर पाएका छन् ।

एक महिनापछि नेपालले आईसीसी विश्व क्रिकेट लिग टु अन्तर्गत आफ्नो चौंथो सिरिजमा अमेरिका र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्दैछ । जुनमा हुने खेल अमेरिकामा हुनेछ । यस सिरिजको तयारीको रुपमा नेपालले हालै मात्र बलियो टोली टेस्ट राष्ट्र जिम्बावेको ए टोलीसँग ३ खेलको ट्वेन्टी–ट्वेन्टी र एक दिवसीय सिरिज खेल्यो ।

जसमा ट्वेन्टी–ट्वेन्टी सिरिज १–१ को बराबरी हुँदा एक दिवसीय सिरिज नेपालले २–१ ले जित्न सफल भयो । जिम्बावे ए सँगको खेललाई प्रशिक्षक पुबुदु दासानायकेले जित हारभन्दा पनि नेपालले युवा खेलाडीलाई म्याच एक्सपोजर, खेलाडी परीक्षण र कमीकमजोरी सच्याउने अवसरका रुपमा लिएका थिए । त्यसैले यो सिरिजको नतिजाबाट उनी सन्तुष्ट देखिए ।

एक पुस्ताका खेलाडीनै परिवर्तन हुँदै संक्रमणकालिन अवस्थामा रहेको नेपाली टोलीले देखाएको यस प्रदर्शनले लिग टुमा नेपालले राम्रो नतिजा दिलाउने आशा पनि देखाएको छ । बलियो टोलीसँगको खेलबाट टोलीले धेरै कुरा सिक्ने मौका पाएको उनी बताउँछन् ।

यस सिरिजबाट सुनील धमलाले लामो समयपछि राष्ट्रिय टोलीमा प्रवेश पाए । त्यस्तै, बसिर अहमद, भिम सार्कीले ट्वेन्टी ट्वेन्टी र लिस्ट ए मान्यता पाएको एक दिवसियमा बसिरसँगै मोहमद आदिल अन्सारी र किशोर महतोले डेब्युको अवसर पाए । एक दिवसीयमा सिरिजमा सर्वाधिक रन बनाउने ब्याटरको शीर्ष ३ खेलाडीमा कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी र आसिफ शेद छन् ।

त्यस्तै, ३ खेलाडीले सर्वाधिक ६ विकेट लिँदा तीव्र गतिका बलरहरु सोमपाल कामी र करण केसी पनि यसमा सामेल रहे । डेब्युटान किशोर महतोले अन्तिम खेलमा मात्र ५ विकेट लिए । ३ वटा एक दिवसीय खेल्दा नेपालले कुल १५ खेलाडीलाई मैदान उतार्‍यो । पाएको मौकामा खेलाडीहरु पनि सफल भएको र यसले लिग टु को आगामी खेलहरुमा टोलीलाई फाइदा पुग्ने प्रशिक्षकको विश्वास छ ।

७ राष्ट्र सहभागी लिग टु सिरिज २०२३ को फेब्रुअरीसम्म चल्नेछ । जसमा कुल १ सय २६ खेल हुँदा एक राष्ट्रले कुल ३६ खेल खेल्नेछ । अहिलेसम्म सर्वाधिक ३२ खेलबाट ४० अंक बनाउँदै ओमान तालिकाको शीर्षस्थानमा छ । सबै भन्दा कम १२ खेल खेलेको नेपाल १२ अंक सहित छैटौं स्थानमा छ ।

अब नेपालले २४ खेल खेल्न बाँकी छ । त्यसैले अबको ९ महिना नेपाली टोलीको व्यस्त तालिका छ । यो सिरिजको शीर्ष ३ टोलीले अर्को वर्ष भारतमा हुने एक दिवसिय विश्व कपका लागि छनौट खेल्नेछ बाँकी ४ टोलीले विश्वकप छनौट प्ले अफ खेल्नेछ । यो सिरिजले नेपाल सन्तुलित अवस्थामा रहेको देखाएको छ । अब टोली सामु त्यसलाई कायम राख्दै थप तयारी गर्नुपर्नेछ चुनौती छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्