पर्यटकीय क्षेत्र बन्दै द्वन्द्वले गालेको महत गाउँ (भिडियो रिपोर्टसहित)

२०७८ चैत २८ गते २०:५२
पर्यटकीय क्षेत्र बन्दै द्वन्द्वले गालेको महत गाउँ (भिडियो रिपोर्टसहित)

२८ चैत २०७८ रुकुमपूर्व । रुकुम पूर्वको भूमे गाउँपालिकामा पर्ने महत गाउँ आफैंमा घना वस्ती भएको सुन्दर र ऐतिहासिक स्थान हो। यो गाउँमा नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा राज्यपक्षबाट ५२ र माओवादीबाट ६ गरी ५८ जना मारिएका थिए ।

दश वर्ष लामो जनयुद्धको केन्द्र भागमा रहेको महत गाउँलाइ अहिले युद्ध पर्यटकीय क्षेत्रको रुपमा विकास भैरहेको छ ।

माओवादी सशस्त्र द्वन्द्वमा नेपाल प्रहरीका अधिकृत पहिलो पटक अपहरण परेको घटना सायदै कसैले बिर्सिएका होलान् । यही गाउँ हो, जहाँबाट पहिलो पटक तत्कालिन प्रहरी नायव उपरीक्षक (डीएसपी) ठूले राई अपहरणमा पर्नुभएको थियो ।

२०५६ असोज ५ गते राति माओवादीले प्रहरी चौकी कब्जा गरी तत्कालिन नेपाल प्रहरीका डीएसपी राईलाई अपहरण गरेपछि यहाँ ठूल्ल–ठूला भिडन्त भए । यही ऐतिहासिक ठाउँमा अहिले ‘युद्ध फिचर’ बनाइएको छ । यो गाउँलाई युद्ध स्मारिकाको रुपमा परिचित गराउन भूमे गाउँपालिकाको लगानीमा लडाकुहरुको शालिकसमेत तयार गरिएको छ ।

गाउँमा नन्दबहादुर पुनसहित रोल्पाका हरिबहादुर पुन, रुकुमपूर्वका होमप्रकाश श्रेष्ठ, कृष्ण रेग्मी, जितबहादुर बुढा रुकुम पश्चिमका किशोर घर्तीमगरको पनि शालिक बनाइएको छ ।

भूमे गाउँपालिकाले यो गाउँलाई युद्ध फिचरसहितको युद्ध पर्यटकीय क्षेत्र बनाउने तयारी गरेको बताएको छ । यसका लागि हालसम्म गाउँपालिकाले ६८ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । यसअघि नै यस ठाउँमा महत प्रहरी चौकी कब्जा गर्दाको दृश्यसहितको फिचरसमेत राखिएको थियो ।

आर्थिक वर्ष २०७४–०७५ देखि नै स्थानीय तहले यहाँ लगानी गरिरहेको छ । उक्त आर्थिक वर्षमा २० लाख, २०७५–०७६ मा १५ लाख, २०७७–०७८ मा ३३ लाख ५० हजार रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ। अवधारणा पत्र निर्माण, डीपीआर र भौतिक संरचना निर्माणमा बजेट खर्च भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *