खेलकूद
एएफसी फुटसल एसियन कप छनोटमा नेपालको खराब शुरूवात
२०७८ चैत २७ गते १६:४८

२७ चैत २०७८ काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले फराकिलो हार बेहोरेको छ ।
किर्गिस्तानको बिस्केकस्थित गाज्पोर्म स्पोर्ट्स कम्प्लेक्समा आज नेपाल उज्वेकिस्तानसँग ५,१ गोल अन्तरले पराजित भएको हो ।
उज्वेकिस्तानका लागि रोपिभ इख्तियोरले दुई तथा खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एल्मुरोदोभ एब्बोसले एक एक गोल गरे । नेपालका मणि लामाले एक गोल फर्काए ।
उज्वेकिस्तानविरुद्ध नेपाल पहिलो हाफमै तीन गोलले पछि परेको थियो । दोस्रो हाफमा एक गोल फर्काउदा नेपालले थप दुई गोल व्यहोरेको थियो ।
छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेलमा भोलि ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले अन्तिम खेल पर्सि अफगानिस्तानसँग खेल्ने छ।
प्रतिक्रिया