समाज

पेशा नै लोप हुने अवस्था आएपछि संरक्षणमा जुटे माझी समुदाय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत ६ गते १८:११
पेशा नै लोप हुने अवस्था आएपछि संरक्षणमा जुटे माझी समुदाय  (भिडियो रिपोर्टसहित)

६ चैत २०७८ रामेछाप । सडक विस्तारसँगै पक्की पुल निर्माण भएपछि माझी समुदायको पहिचानको रुपमा रहेको डुङ्गा लोप हुँदै गएका छन् । आफ्नो पहिचान रोजीरोटीसँग जोडिएको पेशा नै लोप हुने अवस्था आएपछि माझी समुदाय आफै संरक्षणमा जुटेका छन् ।

केही वर्षअघि घाट तथा नदी वारपार गर्ने ठाउँमा प्रशस्तै देखिने डुंगा अहिले विरलै देखिन्छन् । सुनकोशी र तामाकोशी नदीको संगम स्थल त्रिवेणीमा धेरै डुङ्गा चल्ने भएकाले त्यस ठाउँको नाम नै सेलेघाट रहन गएको हो । तर अहिले सेलेघाटमा निकै कम डुंगा देखिन्छन् ।

पुल, सडकलगायत यातायात सञ्चालनका लागि स्थायी संरचना निर्माण हुनु डुंगा पेशा नै संकटमा पर्ने अर्को कारण हो । पहिले डुंगा खियाउँने पेशा माझी समुदायको जीविकोपार्जनसँग जोडिएको थियो ।

तत्कालिन राजा महेन्द्रको पालामा रामेछापमा पर्ने सुनकोशी र तामाकोशी नदी किनारका जमिन स्थानीय माझीलाई बिर्ताका रुपमा दिइएको माझीहरुले बताएका छन् । सडक र पुल निर्माण हुनु अघि माझीहरुले मानिस र सामान वारवार गर्नका लागि ठेक्कामा समेत डुंगा तार्ने काम गर्दथे ।

आधुनिकतासँगै सिमान्तकृत जातिमा पर्ने माझी समुदायको पहिचान संकटमा पर्दै गएपछि युवा पुस्ता आफ्नो संस्कृति र पहिचान संरक्षणमा जुटेका छन् । माझी जातिको संस्कृति र पहिचान संरक्षणका लागि लोप भइसकेको डुङ्गा पुनः सञ्चालनमा ल्याइएको छ ।

रामेछाप जिल्लामा पर्ने घाट तथा नदी वारपार गर्ने ठाउँमा सञ्चालन हुँदै आएको ढुङ्गा विगत ६–७ वर्ष अघिदेखि बन्द हुँदै आएको हो । उनीहरुले तार्ने गरेको डुंगा नदीले नबगाओस भनेर उनीहरु वार्षिक रुपमा नदी पूजा पनि गर्ने गरेका थिए । हिजोआज डुंगा तार्ने काम नपाए पनि उनीहरुले पाठी, परेवा कुखुरा भोग दिएर नदी पूजा भने हरेक वर्ष गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *