सातदोबाटोले पुलिसलाई हराएको दिन मछिन्द्रलाई पनि सफलता

हिमालय टिभी
२०७८ माघ २९ गते १८:५७
सातदोबाटोले पुलिसलाई हराएको दिन मछिन्द्रलाई पनि सफलता

२९ माघ २०७८ काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लीगमा आज विभागीय टोली नेपाल पुलिस क्लबलाई सातदोबाटो युथ क्लबले पराजित गर्दा अर्को खेलमा तालिकाको शीर्ष स्थानमा रहेको मच्छिन्द्रले च्यासल युथ क्लबलाई हराएको छ ।

ललितपुरस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा सातदोबाटो युथ क्लबले नेपाल पुलिसलाई १–० ले पराजित गरेको हो । सातदोबाटो युथ क्लबलाई जित दिलाउन आकाश बुढामगरले १९औं मिनेटमा गरेको गोल निर्णायक भएको हो । यससँगै सातदोबाटो बाटोले डेब्यु सिजन मै बलियो टोली मध्येको पुलिसमाथि अर्को सफलता निकालेको हो । यस अघि सातदोबाटोले थ्री स्टार र मनाङ मर्स्याङ्दी पराजित गर्दै जारी लीगमा सनसनी मच्याएको थियो ।

निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसका हेमन्त श्रेष्ठले पेनाल्टी क्षेत्रभित्र आकाशलाई फाउल गरेपछि सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो । जसमा आकाशले पेनाल्टी अवसरलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए जुन गोल तीन अंकका लागि पर्याप्त बन्यो ।

यस जितसँगै सातदोबाटोले १० खेलमा १५ अंक जोडेको छ । सातदोबाटो पाँचौं स्थानमा उक्लिएको छ । पुलिसले १० खेलमा १० अंक जोडेको छ । पुलिस १० औं स्थानमा रहेको छ ।

लीग अन्तर्गत दशरथ रंगशालामा नै भएको अर्को खेलमा शीर्ष स्थानको मछिन्द्रले रेलिगेशन क्षेत्रको पुछारमा रहेको च्यासलमाथि २–० को जित निकाल्यो । राष्ट्रिय टोलीका खेलाडीले भरिएको मछिन्द्रको जितमा विमल घर्ती मगर र सुनिल बलले एक–एक गोल गरे । मच्छिन्द्रले पहिलो हाफमा गरेको गोल नै तालिकामा शीर्षता कायम राख्न सहयोग पुग्यो ।

तुलनात्मक रुपमा कमजोर देखिएको च्यासलविरुद्ध मछिन्द्रले सुरुआतबाट नै दबाब दिएर खेलेको थियो । सोही क्रममा १७ औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई १–० गोलको अग्रता दिलाएका हुन । रञ्जित धिमालको कर्नरमा विमलले उत्कृष्ट हेडर गोल गरेका हुन । त्यसका आठ मिनेटपछि सुनिल बलले गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए ।

विमलले उपलब्ध गराएको पासमा सुनिलले पेनाल्टी क्षेत्रबाट जाली चुमाएका थिए । तर दोस्रो हाफको खेलमा भने मछिन्द्रलाई झट्का लाग्यो । सुनिलको स्थानमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मनिष डाँगी विपक्ष च्यासलका यानिक केचासँग जुध्न पुग्दा मैदानमा लडेका थिए । उनलाई तत्काल मैदानमै सीपीआर दिइएको थियो । त्यसपछि थप उपचारका लागि मनिषलाई त्रिपुरेश्वरको ब्लु क्रस अस्पताल लगिएको छ । अस्पताल प्रशासनले मनिष खतरामुक्त भएको भन्दै विज्ञप्ति पनि जारी गरेको छ ।

जितपछि शीर्ष स्थानको मछिन्द्रको १० खेलबाट २६ अंक भएको छ । समान १० खेलमा ५ अंको जोडेको च्यासल तालिकाको पुछारमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *