खेलकूद

मैत्रीपूर्ण खेलको लागि मरिससको फुटबल टोली नेपालमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १० गते २०:२९
मैत्रीपूर्ण खेलको लागि मरिससको फुटबल टोली नेपालमा (भिडियो रिपोर्टसहित)

१० माघ २०७८ काठमाडौं । नेपालसँग मैत्रीपूर्ण खेलका लागि अफ्रिकी राष्ट्र मरिससको राष्ट्रिय फुटबल टोली नेपाल आइपुगेको छ । नेपाल र मरिससबीच माघ १५ र १८ गते दशरथ रंगशालामा खेल हुनेछ । फिफाको अन्तर्राष्ट्रिय मान्यता पाएको खेलमा नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो ।

अफ्रिकी महाद्धीपको दक्षिण पश्चिमतर्फको टापु राष्ट्र मरिससको राष्ट्रिय फूटबल टोली नेपालसँगको मैत्रीपूर्ण खेल खेल्न सोमबार दिउँसो नेपाल अवतरण गरेको छ । पाहुना टोलीलाई एन्फा पदाधिकारीले विमानस्थलमा स्वागत गरे । पहिलो पटक नेपाल आएको मरिसस मैत्रीपूर्ण खेलका उत्साहित छ ।

फिफाको फ्रेण्ड्ली डेटमा नेपालले नयाँ प्रतिद्धन्द्वी मरिसससँग खेल्न लागेको हो । यसअघि दुई अफ्रिकी टोलीसँग खेले पनि नेपालले फिफाको अन्तर्राष्ट्रिय खेलको मान्यता प्राप्त मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्रसँग पहिलो पटक खेल्न लागेको हो । नेपाली फूटबलका विषयमा खासै जानकारी नरहे पनि साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शन हेरेको र टोलीले स्तरीय खेल खेलेको मरिससका प्रशिक्षकको प्रतिक्रिया छ ।

मरिससले मंगलबारदेखिनै नेपालमा प्रशिक्षण शुरु गर्नेछ । टोलीका केही मुख्य खेलाडीमा कोरोना संक्रमण देखिएका कारण नेपाल नआएको प्रशिक्षकले बताए । फिफाको पछिल्लो वरियतामा नेपाल १ सय ६९ औं स्थानमा छ भने मरिसस नेपाल भन्दा ३ स्थान तल १ सय ७२ औं स्थानमा छ ।

सन् २०१९ को मार्चमा न्यु क्यालेडोनियालाई ३–१ ले हराएयता मरिसस जितविहीन छ । हाल अफ्रिकन कप अफ नेशनन्स छनोटको तयारीमा रहेको मरिससले नेपालविरुद्धको खेलले टोलीमा सुधारको अपेक्षा राखेको छ ।

नेपाल र मरिससबीचको माघ १५ र १८ गते दशरथ रंगशालामा खेल हुनेछ । नेपालले सेप्टेम्बरमा भारतसँग दुई मैत्रीपूर्ण खेलेयता मरिसससँग पहिलो पटक घरेलु मैदानमा खेल्न लागेको हो ।

गत असोजमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता भएको नेपालले त्यसयता कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अहिले खेलाडीलाई बन्द प्रशिक्षण गराइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्