खेलकूद

पुलिस क्लब र एपीएफ क्लब प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल प्रवेश

हिमालय टिभी
२०७८ पुष ३० गते १९:१६
पुलिस क्लब र एपीएफ क्लब प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल प्रवेश

३० पुस २०७८ काठमाडौं । विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र एपीएफ क्लब राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मूलपानी मैदानमा समूह चरणको अन्तिम खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । टस हारेर ब्याटिङका लागि निम्त्याइएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । १ सय ५ रनको लक्ष्य एपीएफले ११ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज कर्णाली प्रदेशलाई ८९ रनले हराउँदै पुलिसले एक खेल अगावै अन्तिम चारमा स्थान सुरक्षित गर्‌यो । २ सय ४५ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रनमा सिमित बन्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ४४ रन बनायो ।

यहि समुहको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले सुदुरपश्चिम प्रदेशलाई ३ विकेटले हरायो । १ सय १६ रनको लक्ष्य आर्मीले २० ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।

सुदूरपश्चिमका आदित्य महतले आर्मीविरुद्ध धारिलो बलिङ गर्दै ४ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् । मुलपानी क्रिकेट मैदानमा टस गुमाएर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा सबै विकेट गुमाएर १ सय १५ रन बनायो ।

आजै भएको खेलमा बागमती प्रदेशले प्रदेश नम्बर २ माथि पाँच विकेटको जित निकाल्यो । टस जितेर ब्याटिङ गरेको प्रदेश–२ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । १ सय ५६ रनको लक्ष्य वाग्मतीले दुई बल बाँकी हुँदा पाँच विकेट गुमाएर पूरा गर्‍यो । प्रदेश–२ का लागि हरिशंकर साहले अविजित ५६ रन बनाए । विवेक यादवले २८ रन जोडे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्