Political Hightlights

एमाले जिल्ला अधिवेशनः केन्द्रको हस्तक्षेपलाई लिएर विवाद (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २६ गते २०:१८
एमाले जिल्ला अधिवेशनः केन्द्रको हस्तक्षेपलाई लिएर विवाद (भिडियो रिपोर्टसहित)

२६ पुस २०७८ काठमाडौं । नेकपा एमालेमा देशभर जिल्ला अधिवेशनमार्फत नेतृत्व चयन प्रक्रिया भइरहेको छ । सहमतिमा नेतृत्व चयन गर्न केन्द्रले निर्देशन दिएको छ । कतिपय जिल्लामा निर्वाचनमार्फत नेतृत्व टुंगो लागाइएको छ भने कतै नेतृत्व चयन प्रक्रिया र केन्द्रको हस्तक्षेपलाई लिएर विवाद भएको छ ।

पुस २३ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयबाट एकसाथ भर्चुअल उद्घाटन गर्दै सकेसम्म सर्वसम्मत, सहमति हुन नसके मात्रै स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभएको थियो । अधिकांश जिल्लामा नेतृत्वका आकांक्षी धेरै भएका कारण सहमतिको प्रयास सफल हुन सकिरहेको छैन । अधिवेशन जारी रहेका कतिपय जिल्लामा सर्वसम्मत् अध्यक्ष चयन गरिए पनि अन्य पदमा भने निर्वाचन हुँदैछ ।

ओली समूहले एकलौटी गरेको भन्दै काठमाडौं, मकवानपुर, रुपन्देही, अर्घाखाँची लगायतका जिल्लामा विवाद चुलिएको छ । कतिपय जिल्लामा सहमतिको प्रयास गर्न अधिवेशन नै स्थगित गरिएको छ । काठमाडौंमै पनि नेतृत्व चयनमा लोकतान्त्रिक विधि पद्धति विपरीत निरंकुश र स्वेच्छाचारी भएको भन्दै नेता रामवीर मानन्धरले आपत्ति जनाउनुभएको छ ।

नेतृत्व चयनमा सर्वसम्मतिको नाममा सांगठनिक अराजकता निम्तिएको मानन्धरको गुनासो छ ।

आन्तरिक विवाद र पार्टी विभाजनपछि केन्द्रसहित प्रदेशहरुमा आफ्नो नेतृत्वको सरकार गुमाएको एमालेले गुटबन्दी अन्त्यका लागि भन्दै पार्टीको अधिवेशनमा सर्वसम्मतिको रटान लगाइरहेको छ । तर सहमतिको नाममा ओली निकटकै दबदबा हुने भएपछि धेरैतिर विरोध छचल्किएको हो ।

एमालेमा गुटगत राजनीति पञ्चायत कालबाटै कायम छ । कहिले अल्पमत र बहुमत समूह र कहिले नौलो जनवाद र जनताको बहुदलीय जनवादका नाममा समूहहरू सक्रिय थिए । तर ती समूहको अस्तित्व नै नामेट गरेर नयाँ समूहले पार्टीमाथि शासन गर्न खोज्दा धेरैतिर एकैपटक विवाद बढेको हो ।

अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्न एमालेले सर्कुलर गरेको छ ।

निर्वाचनको विधि र प्रक्रियाको हकमा पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्देशनअनुसार गर्न पनि भनिएको छ । तर यस्तो निर्देशन देखावटी मात्र हुने र केन्द्रले नै पठाएका नाममा थपडी बजाउनपर्ने भएपछि जिल्लाहरुमा विद्रोह देखिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्