४० वर्ष बिनाकसुर कारागार बसेका दुर्गाप्रसाद : अमूल्य जीवनको क्षतिपूर्ति रकममा

हिमालय टिभी
२०७८ मंसिर २६ गते ६:३२
४० वर्ष बिनाकसुर कारागार बसेका दुर्गाप्रसाद : अमूल्य जीवनको क्षतिपूर्ति रकममा

२६ मंसिर २०७८ इलाम । सामान्यतया कारागार कुनै कसुरमा परेर दोषी प्रमाणित भएपछि बसिन्छ । सजायवापत निश्चित समयपछि कारागारबाट निस्किन्छ । इलामका एक व्यक्ति भने योभन्दा भिन्न प्रक्रियाबाट कारागार बसेका छन् ।

जो दोषी करार नभई अभियुक्तकै रूपमा कारागार बसेका छन् । त्यही पनि दुई÷चार वर्ष नभई ४० वर्षसम्म ।

यी हुन् इलाम माई नगरपालिकाका दुर्गाप्रसाद तिम्सिना । दुर्गाप्रसाद कामका सन्दर्भमा भारत गएका बेला भारतकै जेल पर्नुभएको हो । चालिस वर्ष कारागार बस्दा दुर्गाप्रसादले धेरै चिज गुमाउनुपरेको छ । आफ्नो लोभलाग्दो लालीजोवन, परिवारसँगको सामिप्यता, समाज र आफन्तसँगका भलाकुसारी सबै कारागारमै सीमित भए ।

यति मात्र कहाँ हो र ? कारागारकै कारण शरीर चल्न गाह्रो भएको छ । बोल्दा मुख काम्छ, अरू त अरू आफ्नै आफन्त पनि ठम्याउन गाह्रो छ । यो अवस्थामा भने दुर्गाप्रसाद कारागारबाट बाहिर निस्किएका छन् । नेपाल र भारतकै आफन्त र चिनजान भएकाले उहाँलाई कारागारबाट निकालेका हुन् । तर अब पनि दुर्गाप्रसादलाई सहज छैन ।

“ठूलोबुबा (दुर्गाप्रसाद)को जीवन अस्थिर जस्तो छ । एक ठाउँ बस्नुहुन्न”, भतिज गोपाल तिम्सिनाले भन्नुभयो, “अश्लील शब्द प्रयोग गर्नुहुन्छ । एक जना हेरालु अनिवार्य चाहिन्छ ।” घरमा सबै जना बिरामी छन् । दुर्गाप्रसादका भाइ पनि रोगी छन् । बहिनी मानसिक बिरामी छन् । दुर्गाप्रसादकी आमाको पनि एउटा हात छैन । कान कम सुन्छिन् । घरभरको भरथेग गर्ने एक्ला व्यक्ति हुन् गोपाल । “घरमा सबैथोक गर्ने ममात्र हुँ । सबै आफैँले गर्नुपर्छ ।” अहिले दुर्गाप्रसाद कारागारबाट छुटे पनि घरमा हुनुहुन्न । घरमा राख्न सकस भएपछि बाहिर राखिएको छ ।

कारागार जीवनमा मलम
पछिल्लो समय राहतका रूपमा मानवअधिकार मञ्च नेपाल र अन्य संस्थाले उपचारको व्यवस्था मिलाए । यसले गर्दा दुर्गाप्रसादको शरीरमा केही प्रगति भयो ।

अहिले भने बिनाकसुर कारागार बसेकामा क्षतिपूर्ति दिन भारतस्थित कोलकाता उच्च अदालतले दुर्गाप्रसादको पक्षमा फैसला गरेको छ । अदालतले पाँच लाख भारु दिन सरकारलाई आदेश दिएको छ । यसले उहाँको जीवनमा केही राहत मिलेको छ । बूढेसकालमा दुखेको शरीरमा मलम लगाउन रकमले राम्रै भूमिका खेलेको छ ।

तिम्सिनालाई जेलबाट छुटाउन महत्वपूर्ण भूमिका खेलेका पश्चिम बङ्गाल एमेच्योर रेडियो क्लबका सचिव अम्बरिश नाग विश्वासले अदालतको फैसला सकारात्मक भएको बताउनुभयो । “लामो लडाइँपछि आज दुर्गाप्रसादले थोरै भए पनि क्षतिपूर्ति पाएका छन् । यो सकारात्मक कुरा हो”, विश्वासले भन्नुभयो । अदालतले उक्त रकम छ साताभित्र तिम्सिनाको खातामा पठाइसक्न पनि भनेको उनको मुद्दा लडेका अधिवक्ता हिरक सिन्हाले जानकारी दिनुभयो ।

कसरी चल्छ त दुर्गाप्रसादको जीवन ?
दुर्गाप्रसादको अमूल्य जीवनको क्षतिपूर्ति पाँच लाख भारु आउने भएको छ । त्यही रकम पनि आउने÷नआउने टुङ्गो छैन । परिवार पनि यो विषयमा विश्वस्त छैन । दुर्गाप्रसादको जीवन चल्न अब झनै गाह्रो छ । “ठूलोबुवा (दुर्गाप्रसाद)को जीवन अब झनै गाह्रो हुन्छ”, भतिज गोपालले भन्नुभयो, “जेलमा पाएको सास्ती पनि बूढो भएको शरीरले पचाउन गाह्रो छ । हामी पनि के गर्ने दोधारमा छौँ ।” गोपालको अब नेपाल सरकारले पनि दुर्गाप्रसादलाई हेर्नुपर्ने धारणा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *