Political Hightlights

कांग्रेस प्रदेश अधिवेशनः तीन प्रदेशको मतपरिणाम सार्वजनिक

हिमालय टिभी
२०७८ मंसिर १९ गते १९:२०
कांग्रेस प्रदेश अधिवेशनः तीन प्रदेशको मतपरिणाम सार्वजनिक

१९ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको प्रदेशसभा अधिवेशनमा तीनवटा प्रदेशको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

प्रदेशको नेतृत्व चयनका लागि हिजो मतदान भएका ६ प्रदेशमध्ये ३ वटाको अन्तिम नजिता आएको हो । जसमध्ये २ वटा प्रदेशमा देउवा पक्षीय उम्मेदवार र एउटा प्रदेशमा पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् ।

कर्णाली प्रदेशमा देउवा पक्षका ललितजंग शाही विजयी हुनुभयो । उहाँले ४ सय २२ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्दी भूपेन्द्रजंग शाहीले ३ सय १७ मत प्राप्त गर्नुभयो । पदाधिकारीमा पनि संस्थापनकै उम्मेदवारहरु विजयी भएका छन्।

त्यस्तै सुदूरपश्चिम प्रदेश सभापतिमा पनि देउवा पक्षीय उम्मेदवार वीरबहादुर बलायर बिजयी हुनु भयो । उहाँले पौडेल पक्षीय नारायण मिश्रलाई पराजित गर्नु भयो । बलायरले ६ सय ८८ मत प्राप्त गर्दा मिश्रले २ सय ८० मत मात्रै पाउनु भयो । पदाधिकारीमा पनि बलायरकै प्यानल बिजयी भएको छ ।

गण्डकी प्रदेशमा भने पौडेल पक्षीय शुक्रराज शर्मा बिजयी हुनु भएको छ । शर्माले ६ सय १२ मत लिएर बिजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्दी अर्जुन जोशीले ५ सय २८ मत ल्याउनु भयो । गण्डकीमा उपसभापति बाहेक सबै पदमा पौडेल पक्षका उम्मेदवार बिजयी भएका छन् ।

बाग्मती प्रदेशमा भने पहिलो चरणको मदतानमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि दोस्रो चरणमा मतदान भएको छ। यो प्रदेशमा संस्थापनबाट इन्द्र बाँनिया, पौडेल पक्षबाट जगदिश्वरनरसिंह केसी र सिटौला समूहबाट भिमसेनदास प्रधानले उम्मेदवारी दिनु भएको थियो ।

दोस्रो चरणमा जाँदा सबैभन्दा कम मत पाएका भिमसेनदास प्रधानले देउवा पक्षीय उम्मेदवार बानियाँलाई समर्थन गर्नु भएको छ । प्रदेश १ र लुम्बिनीमा मतगणना जारी छ । यी दुवै प्रदेशमा संस्थापन इतर समूहका उम्मेदवारले अग्रता लिएका छन् ।

लुम्बिनीमा संस्थापनका भरतकुमार शाह र संस्थापनका अमरसिंह पुन सभापतिका उम्मेदवार हुनुहुन्छ । प्रदेश एकमा संस्थापनका उद्धव थापा र इतर पक्षका गुरुराज घिमिरे सभापतिका उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्