Political Hightlights

कांग्रेसमा गुट संख्या बढ्यो, संस्थापन र इतरमा गुटैगुट (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १५ गते ६:५२
कांग्रेसमा गुट संख्या बढ्यो, संस्थापन र इतरमा गुटैगुट (भिडियो रिपोर्टसहित)

१५ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा पार्टी भित्र रहेका तीन गुटका बीचमा भिडन्त भएको थियो । सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले छुट्टा छुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए । तर यसपटकको १४ औं महाधिवेशनमा भने बिगतको परम्परा र अभ्यास तोडेर नेताहरुले गुट गत भन्दा पनि व्यक्तिगत रुपमा प्रतिस्पर्धा गर्ने देखाएका छन् ।

नेपाली कांग्रेसका १४ औं महाधिवेशन सुरु हुन एक हप्ता मात्रै बाँकी छ । १३ औं महाधिवेशनमा नेपाली कांग्रेसका तीन समूहले प्रतिस्पर्धा गरेका थिए । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री
कृष्णप्रसाद सिटौला समूहबीचमा भिडन्त भएको थियो । तर यसपटक भने अहिलेसम्म कुनै पनि समूहले प्यानल घोषणा गरिसकेको छैन ।

व्यक्तिगत रुपमा छिटफुट उम्मेदवारी घोषणा गरिरहेका छन । यो पटक कांग्रेस नेताहरुले विगतको परम्परा तोडेर व्यक्तिगत रुपमा प्रतिस्पर्धा गर्ने देखिएको छ । तल्लो तहमा भएका अधिवेशनको नतिजाले पनि यसलाई नै संकेत गरेको छ । बिगतमा सभापति देउवालाई साथ दिँदै आएका बिमलेन्द्र निधि यस पटक आफैं सभापतिमा दावी गरेर सभापतिमा उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।

देउवा समूहकै कल्याण गुरुङले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसक्नु भएको छ । बरिष्ठ नेता पौडेल समूहले पनि यसपटक साझा उम्मेदार दिन नसक्ने लगभग पक्कापक्की जस्तै छ । बरिष्ठ नेता पौडेलले सहमतिमै साझा उम्मेदवार दिने दाबी गर्दै आए पनि १३ औं महाधिवेशनमा पौडेललाई सहयोग गरेका पूर्वमहामन्त्री प्रकाशमान सिंहले यसपटक पौडेललाई सहयोग गर्न नसक्ने स्पष्ट पारिसक्नु भएको छ ।

यसपटक आफैं सभापतिको उम्मेदवार बन्ने सिंहको अडान छ । त्यस्तै नेता शेखर कोइराला पनि सभापतिको बलियो दाबेदार हुनुहुन्छ । पौडेल समूहमै रहेका महामन्त्री शशांक कोइरालाले सभापतिमा उम्मेदवारी दिने बताउँदै आए पनि अन्तिमसम्म उहाँको अडान रहन्छ रहन्न वा कस्लाई सहयोग गर्नु हुन्छ भन्ने अझै स्पष्ट भैसकेको छैन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले यसपटक पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसक्नु भएको छ । यसपटकको महाधिवेशनमा आधादर्जन सभापतिका उम्मेदवार हुने जानकारहरु बताउँछन् ।

देउवा र पौडेलकै कारण गुट बनेको अवस्थामा यसपटकको महाधिवेशनमा हुने व्यक्तिगत प्रतिस्पर्धाले गुट समाप्त पार्न भूमिका खेल्न सक्ने विश्लेषक पुरुषोतम दाहालको मत छ ।

समूहगत भन्दा व्यक्तिगत प्रतिस्पर्धाले दलहरु भित्रको गुट भत्काउन सहयोग गरे त सकारात्मक नै हो तर महाधिवेशन पछि सभापतिका दावेदारहरुले पुन अर्को गुटको नेतृत्व गर्ने अवस्थामा आयो भने त्यसले नेपाली कांग्रेसलाई कमजोर पार्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्